११ जेठ, कास्की । कास्कीको पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसीको जित लगभग निश्चित देखिएपछि कांग्रेसले पराजय स्वीकार गरेको छ । कुल खसेको मत मध्ये ८६ प्रतिशत मत गणना सम्पन्न भइसकेपछि कंग्रेसले पराजय स्वीकार गरेको हो । कांग्रेसका मेयरका उम्मेद्वार रामजी कुँवरले पराजय स्वीकार गरेका छन । उनले अब जित्ने सम्भावना नरहेको बताउँदै जितको नजिक रहेका एमाले उम्मेद्वार मानबहादुर जिसीलाई बधाई दिए । कुवँरले कांग्रेसका बलियो क्षेत्र भनेर चिनिएको वडा नम्बर १ देखि १५ सम्म अग्रता लिन नसक्दा पराजयकोे पूर्व संकेत देखिएकोले अबको वडामा कुनै आशा नै नरहेको बताए । ३३ वडामध्ये २९ वडाको मत परिणाम आउँदा जिसी कांग्रेसका उम्मेद्वार रामजी कुँवर भन्दा ११ हजार ९ सय २ मतले अघि छन । एमाले उम्मेद्वार जिसीले ५१ हजार २ सय १७ मत प्राप्त गरेका छन । कांग्रेसका कुँवरले ३९ हजार ३ सय १५ मत प्राप्त गरेका छन । अब ४ वटा वडाको १८ हजार ७ सय २७ मतको परिणाम आउन बाँकी छ । वडा नम्बर ३० मा ४ हजार ७ सय ४३, वडा नम्बर ३१ मा ३ हजार ९ सय २१, वडा नम्बर ३२ मा ४ हजार ५ सय ८५ र वडा नम्बर ३३ मा ५ हजार ४ सय ७८ मत खसेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०७४