१० जेठ, काठमाडौँ । निर्वाचन आयोगले सरकारले थपिएका स्थानीय तहको संख्र्या अझै नपठाउँदा अन्योल बढेको जनाएको छ । संख्या थपघटबारे सरकारबाट कुनै जानकारी नआएकाले आयोगले पहिलेकै कार्यतालिका अनुसार काम गरिरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । जेठ ३१ मा ४ सय ६१ स्थानीय तहमा चुनाव गराउनेगरी तयारी भैरहेको उनले बताए । सरकारले अस्ति सोमबार २३ वटा स्थानीय तह थप गर्ने र पर्सामा साबिकको एउटा गाउँपालिकालाई वीरगञ्जमा मिसाउने निर्णय गरेको थियो । यसअघिका २४ गाउँपालिकालाई नगरपालिकामा गाभ्दै विराटनगर र वीरगंजलाई महानगरपालिका बनाउने सरकारको निर्णय छ । सरकारको निर्णय अनुसार थपिएका स्थानीय तहमा नयाँ ढंगले काम गर्नुपर्ने हुन्छ । ती ठाउँमा मतदाता नामावली, मतदाता परिचयपत्र फेरि छाप्ने र निर्वाचन अधिकृतसहितका कर्मचारीको व्यवस्थापनदेखि मतदान केन्द्रसम्म मिलाउनुपर्ने हुन्छ । तर सरकारले जानकारी नगराउँदा आयोगले पुरानै कार्यतालिका अनुसार काम गरिरहेको छ । प्रमुख निर्वाचन आयुक्तले केही प्राविधिक समस्या भए पनि थपिएका ठाउँमा ३१ गते नै चुनाव गराउन सकिने बताए पनि आयोगका अरु पदाधिकारी भने अलमलमा छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०७४