डा. अरुण शाही
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित खतरालाई मध्यनजर गर्दै नेपाल सरकारले यतिबेला लकडाउनको घोषणा गरेको छ । संक्रमण फैलने सम्भावना भएकाले अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।
यस्तो बेलामा सबै जनाले लकडाउनको पूर्ण पालना गर्दै घरमै बसेर सम्भावित रोगको जोखिम कम गर्नुपर्छ । त्यसमा पनि क्यान्सर रोगीले त यस्तो बेलामा विशेष सावधानी अपनाउनु जरुरी हुन्छ । आजसम्म उपलब्ध शोध र अनुसन्धानको प्रमाणका आधारमा यहाँ केही बुँदा प्रस्तुत गरेको छु, जुन क्यान्सर रोगी र कोरोना संक्रमणसँग सम्बन्धित छन् ।
१) सामाजिक दूरीको अनुशरण गर्नुहोस् र सकेसम्म घरभित्रै बस्नुहोस् ।
२) किमोथेरापी लिइरहेका क्यान्सरका बिरामीहरुलाई विभिन्न इन्फेक्सन लगायत कोरोना भाइरसको उच्च जोखिम हुन्छ । साथै यस्ता बिरामीहरुलाई संक्रमणको जटिलताको पनि जोखिम हुन्छ । किनभने, सामान्य रोगभन्दा क्यान्सर रोगीहरुको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ ।
३) वृद्ध बिरामीहरु, रक्त क्यान्सरका बिरामी, बोनम्यारो प्रत्यारोपण गरेका व्यक्तिहरुलाई कोरोना संक्रमणको जोखिम उच्च हुन्छ ।
४) तपाईंको अन्कोलोजिस्टको परामर्शमा किमोथेरापीमा ढिलाइ गर्ने विचार गर्नुहोस् । तपाईंले क्यान्सर रोग आफूमा बढ्ने जोखिमसँगै कोरोना संक्रमणको जोखिमको सम्भावनाको बीचमा सन्तुलनका आधारमा किमोथेरापी जारी राख्ने वा रोक्ने वा ढिलाइ गर्ने विषयमा फोन वा इमेलमार्फत तपाईंको अन्कोलोजिस्टसँग छलफल गर्नुहोस् । कृपया अन्कोलोजिस्ट वा अन्य चिकित्सिकहरुसँग अनावश्यक भेटलाई स्थगित गर्नुहोस् ।
५) यदि तपाईंले किमोथेरापी जारी राख्ने निर्णय लिनुहुन्छ भने यसको मतलब तपाईले वर्तमान कोरोना भाइरसको प्रकोपको स्थितिमा किमोथेरापी गर्दा आइलाग्ने जटिलता र जोखिमको बारेमा राम्ररी बुझ्नुभएको छ ।
६) कृपया अहिलेको अवस्थामा रेस्टुरेन्ट, सार्वजनिक यातायात, क्लिनिक तथा अस्पतालहरुको पर्खाइ कक्षबाट टाढा रहनुहोस् ।
७) इम्युनोथेरापी, टार्गेटेड थेरापी, एन्टिएन्जियोजेनिक थेरापी, मेन्टेनेन्स थेरापी, उपचारमा बिरामीको हितमा आफ्नो अन्कोलोजिस्टसँग परामर्श लिएर उपचार रोक्ने वा जारी राख्ने निर्णय केस टु केसका आधारमा गर्नुपर्ने हुन्छ ।
८) केही जाँचहरु जस्तैः पल्मोनरी फंक्सन टेस्ट, ब्रोन्कोस्कोपी, इन्डोस्कोपी, दन्त मूल्यांकन आदि बिरामी एवं स्वास्थ्यकर्मीबीचको जोखिम–लाभ अनुपात ध्यानपूर्वक तौलेपछि न्यायसंगत तरिकाले प्रयोग गर्नुपर्ने हुन्छ ।
९) यदि तपाईंलाई सम्भावित कोरोना इन्फेक्सनको लक्षण देखिए तपाईंको उपचार गर्ने डाक्टर वा स्थानीय सरकारी स्वास्थ्य अधिकारीलाई खबर गर्नुहोस् ।
१०) कृपया साबुन पानीले मिचिमिची हात धुनुहोस् । व्यक्तिगत सुरक्षाका नियमहरुको पालना गर्नुहोस् । सरकार र स्थानीय अधिकारीहरुले दिएका सबै निर्देशन र सिफरिसहरुको पालना गर्नुहोस् ।
११) यी सल्लाह र सुझावहरु अस्थायी तर सम्भावित जीवन बचाउने उपायहरु हुन्, जुन तपाईंहरुले कोरोना भाइरसको प्रकोप नियन्त्रण नभएसम्म अनुशरण गर्न विशेष जरुरी छ ।
(लेखक पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ हुन् ।)
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६