काठमाडौं । मुलुकभित्र कोरोनाको बिरामी अहिलेसम्म नेभेटिएको भए पनि सर्वत्र विश्वलाई यसले यसले प्रभावित बनाउँदा सरकारले पनि एकपछि अर्को पूर्वतयारीका उपायहरु अपनाएको छ ।
यतिबेला सरकारका सबै काम कारबाहीहरु मुलुकभित्र कोरोना भित्रिन नदिने र आइपर्ने सम्भावित खतरासँग कसरी जुध्ने भन्नेतर्फ केन्द्रित छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा भर्ना हुनुपूर्व नै उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति बनाएका थिए ।
र, त्यो समितिले प्रधानमन्त्री अस्पतालमै रहेका बेला पनि कैयौं महत्वपूर्ण निर्णयहरु लिइसकेको थियो । प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएयता त झन् कोराना भइरस प्रवेशमा कडाइ गर्न र मुलुकभित्रका सबै अवयवहरु सुचारु अवस्थामा राख्न सरकारले दैनिकजसो महत्वपूर्ण निर्णयहरु लिँदै आएको छ ।
छिमेकी भारतमा पनि कोराना संक्रमितहरुको संख्या बढिरहेको र विश्वका अन्य देशमा समेत कोरानाले आक्रान्त पारिरहेको सन्दर्भमा सरकारले एकपछि अर्को सावधानी र सुरक्षाका लागि महत्वपूर्ण कदम चालिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नुपूर्व नै पनि सरकारले जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै महत्वपूर्ण निर्णय लिएको थियो ।
एसइई परीक्षा स्थगन गर्नेदेखि शैक्षिक संस्थाहरु बन्द गर्नेसम्मका निर्णय सरकारले समयमै गरिसकेको छ । सरकारले संकटको आँकलन गर्दै सावधानीपूर्वक एकपछि अर्को निर्णय लिइरहेकै छ । तर सरकारले निर्णय लिनुअघिनै बजारमा हाहाकार मच्चाउने, उपभोग्य वस्तुको अभाव सिर्जना गराउने मात्रै होइन, अत्यावश्यकीय व्यवसायहरु एकपक्षीयरुपमा समेत बन्द गरेको पाइएको छ ।
मुलुकमा सरकार छ र सरकारले के गर्ने के नगर्ने भन्ने बारेमा क्रमसँगै निर्णयहरु लिइरहेको छ । यही अवस्थालाई हेरी प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गरे । प्रधानमन्त्रीको सम्बोधनमा ९ गते आइतबारबाट मात्रै लागू हुनेगरी अत्यावश्यकीय बाहेकका सेवाहरु बन्द गर्ने निर्णय लिएको थियो ।
संकटको अवस्थालाई आँकलन गरी सरकारले आश्वस्त तुल्याउँदै निर्णयहरु लिइरहेका बेला सरकारभन्दा अघि जान्ने बनेर केही व्यावसायिक संघसंस्थाहरुले आफूखुसी निर्णयहरु लिएका छन् ।
सरकार नै नभएको जस्तो गरी सरकारले घोषणा गर्नुअघि नै नेपाल औषधि उत्पादक संघले आफ्नो अनुरोध भन्दै चैत ५ गते एउटा विज्ञप्ति निकाल्यो । उसको अनुरोध भनी जारी गरिएको पत्रमा समस्त बजार बिक्री प्रबद्र्धन कर्मचारीहरुले अस्पताल, क्लिनिक, स्वास्थ्य संस्थामा गई कार्यसम्पादन गर्नुपर्ने हुँदा उनीहरुमाथि जोखिम हुने भन्दै चैत ६ गतेदेखि १० दिनका लागि काम नगराउन उल्लेख गरिएको छ ।
एकातर औषधि उत्पादन र बिक्री वितरणलाई सरकारले अत्यावश्यकीय वस्तुमा राखेको छ । यसको मतलब चैत ९ गतेबाट बन्द गरिने व्यवसायहरुमा पनि औषधिको बिक्रीवितरण र उत्पादन पर्दैन । औषधिको बिक्रीवितरण र यसको उत्पादन झन् यस्तो संकटको बेला सुचारु हुनु आवश्यक छ र सरकारको निर्देशनले पनि यही भनिरहेको छ ।
तर संघले सरकारभन्दा अघि नै आफूखुसी जान्ने बनेर बिक्री वितरणमा संलग्न कर्मचारीहरुलाई बिदा दिने काम गरेको छ । उत्पादन बन्द गर्ने नभनिएको भए पनि बिक्रीवितरणसँग सम्बन्धित कर्मचारी घर बसे त्यसको उत्पादन र बिक्रीवितरणमा प्रत्यक्ष प्रभाव परिरहेको छ ।
अत्यावश्यकीय सेवालाई जोखिमको नाममा बन्द गर्ने कामले एकातिर समयमै औषधिको वितरण सहज नहुने सम्भावना देखिएको छ भने अर्कातिर सरकारले अत्यावश्यकीय भनिएका पेसामा समेत कर्मचारीलाई बिदा दिन भनी उर्दी जारी गर्ने औषधि उत्पादक संघले कहाँबाट अधिकार पायो ।
संघको सोही पत्रलाई आधार मानी औषधि बिक्रीवितरणसँग कर्मचारी गएको चैत ६ गतेदेखि नै बिदामा बसिसकेका छन् भने कर्मचारी बिदामा बसेपछि औषधिको बिक्री वितरणमा प्रभाव परिरहेको छ । बजारमा अहिले औषधिको अभाव नदेखिए पनि कर्मचारी बिदाको असर छिट्टै देखिने छ र औषधि अभाव हुन थाल्ने देखिन्छ ।

औषधिको उत्पादन, बिक्री वितरणमा संलग्न कर्मचारीहरुलाई उच्च सावधानीका लागि सुरक्षाका सबै सावधानी अपनाएर काम गर्नुपर्ने गरी प्रेरित गर्नुपर्नेमा उल्टै संघ स्वयंले बिदा दिने काम गरेको छ ।
संघले एकातिर मुलुकमा सरकार नै नभएको जसरी सरकारले भन्नुअघि नै निर्णय लिएको छ भने अर्कातिर अत्यावश्यकीय सेवालाई बिदा गरेर सरकारको निर्णयलाई उल्लंघन गरिदिएको छ । अब सोचौँ भोलि अस्पताल एसोसिएसनले अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारीलाई बिदा दिने निर्णय लिए के हुने ? सरकारभन्दा संघसंस्थाहरु बढी शक्तिशाली भएका हुन् या सरकारलाई उनीहरुले नटेरेका हुन् ?

सरकारले औषधिको बिक्रीवितरणलाई सहज र प्रभावकारी बनाइराख्न सुरक्षाको सावधानीसहित उनीहरुलाई काममा फर्काउने गरी कदम लिनुपर्छ । नभए प्रत्येक संघ संस्थाले आफूखुसी निर्णय लिँदै जाने हो भने सरकारको के काम रहला र ?

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६