भक्तपुर । भक्तपुर नगरपालिका–१ च्यामासिंहस्थित साँचो फार्मेसीले ‘यहाँ मास्क छैन’ भन्ने बोर्ड नै टाँसेको छ । त्यहाँ मात्रै होइन, यहाँकै च्यामासिंह मेडिकल, आरती फर्मालगायत यहाँका अधिकांश औषधि पसल तथा क्लिनिकले त्यस्ता बोर्ड झुन्ड्याएका छन् ।
औषधि पसलमा दैनिक सयभन्दा बढी मानिस मास्क र ह्यान्ड सेनिटाइजर खोज्न आउने तर छैन भन्दाभन्दा हैरान भएपछि बोर्ड नै टाँस्नुपरेको साँचो फार्मेसीका सञ्चालक चन्द्र प्रजापति बताउँछन् । मास्क हुँदा १० रुपैयाँसम्म बिक्री गरेको तर १ सातादेखि नआएपछि बिक्री गर्न नपाएको र अहिले सयभन्दा बढी मानिस मास्क खोज्न आउने गरेको उनले जानकारी दिए ।
आरती फर्माका सञ्चालक सुविन श्रेष्ठले २ सातादेखि मास्क बिक्री गर्न नपाएको बताउँछन् । कपडाको मास्क बिक्री गर्न राखे पनि कसैले लैजाँदैन, १ बट्टामा ५० थान मास्क हुन्छ, अहिले डिलरले नै मास्क छैन भनेर नपठाएपछि बिक्री गर्न नपाएको २ साता भयो , उनले भने ।
च्यामासिंह मेडिकलका सञ्चालक दीप श्रेष्ठ डिलरले मास्क नदिएपछि बिक्री गर्न नपाएको र अन्य औषधिको पनि अहिले माग बढेको जानकारी दिए । उनले भने, विशेषगरी ह्यान्ड सेनिटाइजर, उच्च रक्तचाप, मधुमेह, कोलस्ट्रोल, दम, रुघाखोकी, ज्वरोको औषधि लिन आउने ह्वात्तै बढेका छन् ।
उत्पादक कम्पनीले चीनलगायतका देशमा महङ्गोमा मास्क निर्यात तथा र नेपालको बढ्दो मागको आपूर्ति नगर्ने गर्दा बजारमा अहिले मास्क र ह्यान्ड सेनिटाइजरको अभाव चुलिएको बताइएको छ । काठमाडौँको बजारमा मास्क र ह्यान्ड सेनिटाइजरको कालोबजारी रोक्न वाणिज्य विभागले छापा मारेर कारवाही गर्न थालेपछि यहाँका व्यापारीले मास्क छैन भन्ने सूचना टाँस गरेर राखेका हुन् ।
यहाँको सिङ्गो बजारमा यतिखेर मास्क र ह्यान्ड सेनिटाइजर छैन । सरकारीदेखि निजी अस्पतालसम्म र मेडिकलदेखि क्लिनिकसम्म पुग्दा पनि पाइँदैन । समाचार रिपोर्टिङको क्रममा जिल्लाका सहरी क्षेत्रका ६ अस्पताल र ४० औषधि पसलमा पुग्दा कतै पनि मास्क र ह्यान्ड सेनिटाइजर छैन । सबैबाट सकियो, छैन भन्ने जवाफ आउने गरेको पाइन्छ ।
जिल्ला अस्पतालमा मास्क र ह्यान्ड सेनिटाइजर लिन आएका भोलाछेँका रामसुन्दर श्रेष्ठले जिल्लामा कतै पनि ती सामग्री नपाएको बताए । बीमाको औषधिमा समेत ठूलै लाइन लाग्ने गरेको छ । उनले भने, कोरिया नेपालमैत्री अस्पताल ठिमीमा बिमाको औषधि लिनेको घुइँचो छ, भक्तपुर अस्पतालमा पनि त्यस्तै देखेँ, औषधि आउँदैन भन्ने हल्लाले उपभोक्ता नै ४ महिनासम्मलाई पुग्ने औषधि लान थालेको पाएँ ।
बीमाका औषधि चिकित्सकको सिफारिसभन्दा बढी दिन नपाइने भएपछि कतिपय बिरामी र आफन्तले चिकित्सकलाई २ महिना, ३ महिनाका लागि औषधि लेखिदिनुस् न भन्ने गरेको भक्तपुर अस्पतालका चिकित्सकले बताउँछन् । १ सातायता बीमाको औषधि लिनेको भीड लाग्ने गरेको सो अस्पताल र नेपाल कोरियामैत्री अस्पतालले जानकारी दिएको छ ।
औषधि व्यापारी पनि डिलरले औषधि कम पठाउन थालेको बताउँछन् । भक्तपुरमा औषधि व्यवसाय सञ्चालन गर्दै आएका रामकुमार थापाले डिलर र उत्पादकले नै औषधि कम पठाउन थालेपछि औषधिमा समेत कालो बजारी बढ्न थालेको बताउछन् ।
मध्यपुरथिमिमा औषधि व्यापार गर्दै आएका क्लिनिक सञ्चालक राजेन्द्र श्रेष्ठले मिडियाले हल्ला फैलाएपछि समस्या आएको गुनासो गर्छन् । उनी भन्छन्, हल्लाको भरमा मान्छे लाग्दा अहिले मूल्य निर्धारण भएर आउने औषधिमा समेत कालोबजारी हुन थालेको छ । भारतले औषधि रोक्यो, औषधि अभाव हुन्छ समाचार आएपछि माग बढेको उनको भनाइ छ ।
जिल्ला अहिलेसम्म बजार अनुगमन नहुँदा केही औषधि व्यापारीले १-२ महिना मात्रै म्याद रहेका औषधि र कतिपय म्याद गुज्रेका औषधिसमेत बिक्री गर्न थालेको उपभोक्ता गुनासो गर्छन् । उपभोक्ता सचेत नहुँदा अझै पनि अन्तिम मिति हेरेर औषधि नलैजाने गरेकाले उपभोक्ता सजिलै ठगिने क्रम पनि बढेको छ ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि बजार अनुगमन गर्ने बताउँछिन् ।
प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६