३० वैशाख, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाको वडा नम्बर १२ मा रहेको मतदान केन्द्रबाट नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले निर्वाचन सामग्री जफत गरेका छन् । शनिबार बिहान चुनावका लागि खटिएका अधिकारी तथा सुरक्षा टोली खाना खान लागेको समयमा आएका नेत्रविक्रम चन्द विप्लप नेतृत्वको पार्टीका कार्यकर्ताले मतपेटिका, मतपत्रसहितका सामग्री जफत गरेको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ । नेपाल राष्ट्रिय निमाविको मतदान केन्द्रका मतदान अधिकृत हिक्मतबहादुर मल्लले दिएको जानकारी अनुसार झण्डै दुईसय भन्दा बढीको संख्यामा आएका उनीहरुले सबै सामग्री जफत गरेका हुन् । उनीहरुले मतपत्र र मतदाता परिचय पत्र समेत च्यातेर फालिदिएका छन् । खुकुरी तथा भाला लगायतका घरेलु हातहतियारसहित सुरजित सावतको नेतृत्वमा सामग्री कब्जा गरेका हुन् । घटना भए लगतै जिल्ला सदरमुकाम गमगढीबाट थप सुरक्षाको टोली पठाइएको निमित्त जिल्ला निर्वाचन अधिकारी राजिमान बुढाले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०७४