२४ वैशाख, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद बैठकले देशभर तुइन विस्थापन गर्ने निर्णय गरेको थियो । २ वर्ष भित्र देशभरका तुइन विस्थापन गर्ने गरि तत्कालीन मन्त्रिपरिषदले गरेको निर्णय निकै तामझामका साथ सार्वजनिक गरिएको थियो । पहिलो निर्णय र तुइन युगबाट अन्त्य गर्ने गरि गरिएको सो निर्णय कार्यन्वयन गराउन राज्यका सबै निकायहरु तीव्रताका साथ अघि बढेका थिए । मुलतः त्यो निर्णय कार्यान्वयन गराउने जिम्मेवारी स्थानीय विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग र त्यस अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनको हो । निर्णयका बखत सो डिभिजनको प्रमुख थिए कुमार थापा । विभाग अन्तर्गतका सम्पूर्ण जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै आइरहेका थापालाई पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्रालय सम्हालेका हितराज पाण्डेले त्यो विभागबाट सरुवा गरे ।

कार्यान्वयन प्रक्रियामा सफल रहेका थापाले यसअघि काठमाडाँै जिल्लाको प्राबिधिक प्रमुखको जिम्मेवारीमा रहँदा थानकोट—कंलकी जोड्ने दहचोक क्षेत्र भएर आउने बैकल्पिक मार्ग र काठमाडाँैकै दुर्गम क्षेत्र भनेर चिनिने जैरसिंहपौवा—नाङलेभारे क्षेत्रको बाटो निर्माण पनि तोकिएकै समयमा थापाकै नेतृत्वमा सम्पन्न भएको थियो । जसका कारण सिन्धुपाल्चोक र काठमाडाैँ बिचको रोड सञ्जाल जोडिएको थियो । त्यसबाहेक जुन–जुन जिल्लामा थापा गए सो जिल्लामा उनलाई दिएका जिम्मेवारी सफल रुपमा सम्पन्न गरेका थिए । जब तत्कालीन सरकारले तुइन बिस्थापन गरि तुइन भएको सबै ठाउमा झोलुङ्गे पुल निर्माण गर्ने र त्यो पनि निर्णय गरेको मिति देखि २ बर्ष भित्र सम्पन्न गर्ने गरि त्यो काम गर्ने निर्णय गर्याे, स्वभावैले सो डिभिजनको प्रमुखका हैसियतले थापाले आफ्नो काम निर्णय भएको पहिलो दिनबाटै आरम्भ गरे । योजना बनाउने, फिल्ड भ्रमण गर्ने मात्रै होइन इस्टेमेटेड लगायत निर्माण कार्य आरम्भ पूर्वका सबै कामका लागि उनी रातोदिन खटिए । निर्धारित समयावधी भित्रै दिएको लक्ष्य अनुरुप पूरा गर्ने उद्देश्य अनुरुप थापा सो डिभिजनमा काम गरिरहेका थिए ।
स्थानीयसँग छलफलदेखि देशभर उनको स्वयं सक्रियता भइरहको थियो । सोही अनुसार कार्यप्रगति पनि निरन्तर चलिरहेको थियो । तर केन्द्रमा सरकार परिवर्तन भएलगत्तै उत्कृष्ट काम गरिरहेका थापालाई सो जिम्मेवारीबाट मुक्त गर्दै माओवादी नेता जनार्दन शर्मा प्रभारकरका नजिकका भनिएका गूरुप्रसाद शर्मालाई सो डिभिजनको प्रमुख बनाउने काम भयो । २०७३ असाढ ३० गतेसम्म सो डिभिजनको प्रमुखको रुपमा काम गरेका थापाले आफ्नो सो अवधिसम्म ८ वटा पुल निर्माण सम्पन्न, ५२ वटा निर्माणाधिन र इभलुएसन २३ वटा सम्पन्न गरिसकेका थिए । त्यस्तै सोहि अबधी भित्र जिल्ला विकास अन्तर्गत हुने गरि ५६ वटा निर्माणाधिन र २ वटा मल्टी स्पानको डिजाइन सम्पन्न भइसकेको थियो । सोही रफ्तारमा काम भएको भए यतिञ्जेल लक्ष्य अनुसारको समय भित्र कार्य सम्पन्न गर्ने गरि अन्तिम चरणमा पुग्ने अवस्था आइसक्ने थियो । तर नेतृत्व परिवर्तन भएलगत्तै त्यो कार्या धिमा गतिमा अघि बढिरहेको छ ।
देशभर १ सय ७१ वटा पुल निर्माण गरिसक्नुपर्नेमा अहिलेसम्म २२ वटा मात्रै पुल निर्माण सम्पन्न भएका छन भने बाँकी अर्को आर्थिक बर्ष भित्र मात्रै सम्पन्न हुन सक्ने डिभिजन प्रमुख गुरुप्रसाद शर्माले बताएका छन । उनका अनुसार केहि नेपाल भारत सीमामा निर्माण गर्नुपर्ने भएका कारण उताबाट सहमति ल्याउन समस्या भएको हो केहि मल्टी स्पान भएका कारण निर्माण गर्न नसकिएको हो । शर्माले यसो बताए पनि डिभिजनकै एक कर्मचारीले भने उहाँकै ढिलासुस्तीकै कारण सरकारी लक्ष्य हासिल हुन नसकेको बताए । ती कर्मचारीका अनुसार शर्माले अहिलेसम्म निर्माणाधिन फिल्डमा १० प्रतिशत पनि भ्रमण गरेका छैनन भने सुपरिवेक्षणमा पनि ठेकेदार कम्पनीलाई नै पुरै जिम्मा लगाइदिएका छन । ब्रिज डिभिजनका ती कर्मचारीले भने ठेकेदारले नै सबै गर्ने भए सरकारी निकाय किन चाहियो ? न प्रभावकारी कार्यन्वयन छ न अनुगमन सुरपरिवेक्षण मात्र गफका आधारमा कहाँ लक्ष्य पुरा हुन्छ उनले आजको न्युजसँग असन्तुष्टि पोखे ।

निर्माण सम्पन्न हुनै लागेको पुलनै भाच्चियो
यता डिभिजनकै चरम लापारवाहीका कारण धादिङमा निर्माण सम्पन्न हुनै लागेको पुल भाच्चिएको छ । निर्माणाधिन पुल भाच्चिदा त्यसमा काम गरिरहेका ३ जना घाइते भएका थिए । जसमध्ये एक जना गम्भीर घाइते भएका थिए यद्यपी तिनै जना यतिबेला उपचार पछि सकुशल रहेका छन । धादिङको गल्छी गाउँपालिका र गजुरी गाउँपालिका जोड्ने साविकको बैरेनी जोड्ने त्रिशुली माथिको भुत्याहा खोलामा निर्माण सम्पन्न हुनै लागेको झुलुङ्गे पुल भाच्चिएको हो । सो पुलका वारीपारिका दुइवटै टावर ढलेर भाच्चिएको थियो । मेटलको डोरीले बाध्नुपर्ने प्रावधान राखिएको भएपनि सो पुल निर्माणमा संलग्न ठेकेदारले मेटलको केवल नराखी नाइलनको केवलले बाध्दा सो दुघर्टना भएको थियो । आजको न्यूजले सो पुल निर्माणको ठेकेदार कम्पनी गौरीपार्वती जेवीका सितारामलाई जानकारी माग्दा उनले भने, ‘बजारमा मेटलको केवल नपाइएका कारण नाइलनको केवल राखेका हौँ ।’ त्यसो गर्नु नियम विपरित भएपनि उनले आफ्नो गल्ती भएको भन्दै सो घटनालाई सामान्यरुपमा लिए । उनका अनुसार जुन मुल्यमा ठेक्का भएको हुन्छ सो सबै रकम आफुले निर्माणमा खर्च गर्न नपाउने भएका कारण पनि यसरी जोरजाम गर्नु परेको हुन्छ । उनले भने माथिल्लो स्तरमा पनि यसबाट कमिसन दिनुपर्छ ।
यद्यपी कुन निकायलाई कमिसन बुझाउनुपर्ने हो त्ससबारेमा भने उनले स्पस्ट गरेनन । इस्टीमेट गरिए अनुसार मेटलको केवल नराखी नाइलनको केवल राखेको बारे सस्पेन्सन डिभिजनका प्रमुखसंग जानकारी माग्दा उनले भने “यो ठेकेदारको गल्ती हो हामीले स्पस्टीकरण सोधिसकेका छौ ”। तर ठेकेदारलाई मनोमानी किन गर्न दिनुभयो भन्ने हाम्रो जिज्ञाशामा भने उनी मौन रहे । उनका अनुसार आफ्नो इन्जिनियर अनुगमनको लागि गएको भएपनि ठेकेदारले बदमासी गरेको हो । १ करोड १४ लाख रुपैयाँमा निर्माण सम्झौता भएको सो पुल यहि आर्थिक बर्ष भित्र निर्मण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । निर्माणको अन्तिम चरणमा पुगेको बेला भाच्चिएकाले अब फेरि यो बर्षातमा मनि स्थानीय बासिन्दाले तुइनकै सहायताले नदी वारपार गर्नुपर्ने बाध्यता देखिएको छ । डिभिजन प्रमुख शर्माले ठेकेदार कम्पनीको चरम लापारबाही भएको भने पनि घटना प्रकृति हेर्दा स्वयं शर्माको चरम लापरवाही देखिएको छ । ठेकेदारले बनाउने भएपनि सम्झौता अनुसारको सर सामाग्री उसले प्रयोग गरे नगरेको लगायतका सबै बिषयको अनुगमन गर्ने कार्य स्वयं शर्माले नेतृत्व गरिरहेको डिभिजनको हो । तर उनीमाथी सो घटनाको बिषयमा अहिलेसम्म उपल्लो निकायले कुनै कारवाही प्रक्रिया अघि बढाएको छैन ।
प्रकाशित मिति: शनिबार, वैशाख २३, २०७४