२४ वैशाख, काठमाडौँ । स्थानीय तहको पहिलो चरणमा वैशाख ३१ गते हुने प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका स्थानीय तहमा विभिन्न पदमा ३ सय १६ जना निर्विरोध निर्वाचित भएका छन । निर्वाचन आयोगले केही स्थानमा वैशाख १९ गते भएको मनोनयन दर्ताकै दिन केही पद निर्विरोध निर्वाचित भएको जनाएको छ । वैशाख २१ को उम्मेदवारी फिर्तापछि निर्विरोध हुनेको संख्या बढेको आयोगले जाएको छ । डोल्पाको शे–फोक्सुन्डो र मनाङको नार्फु गाउँपालिकाका सबै पदमा निर्विरोध चुनिएको निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले बताए । शे–फोक्सुन्डो गाउँपालिका अध्यक्षमा एमालेका टसी तुन्डुप गुरुङ र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार धावा गुरुङ निर्विरोध निर्वाचित भएका छन । मनाङको नार्फु गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेसका मिङमा छिरिङ लामा र उपाध्यक्ष स्वतन्त्र उम्मेदवार कोन्जो तेन्जिङ लामा निर्विरोध भएका छन् । निर्वाचन कार्यालय मनाङका प्रमुख रामप्रसाद पौडेलले उक्त गाउँपालिकामा रहेको ५ वटा वडाका वडाध्यक्ष र सदस्यहरूसहित २२ पद निर्विरोध निर्वाचित भएको बताए । निर्विरोध निर्वाचित भएका ३ सय १६ मा वडाध्यक्ष ५६, महिला वडा सदस्य ६३, दलित महिला सदस्य ७७ र खुलातर्फका वडा सदस्यको संख्या ११६ रहेको सचिव मैनालीले बताएका छन । उनले १६९ पुरुष र १४७ महिला उम्मेदवार निर्विरोध निर्वाचित भएको बताए । विभिन्न पदमा निर्विरोध भएकामध्ये नेकपा एमालेका १४२, कांग्रेसका ९४, माओवादी केन्द्रका ३६ र स्वतन्त्रबाट उम्मेदवारी दिएका ३२ जना छन् । सचिव मैनालीका अनुसार राप्रपाका ५, नेमकिपाको २, नयाँ शक्तिको १, परिवार दलको १ जना उम्मेदवार पनि निर्विरोध निर्वाचत भएका छन् । आयोगमा प्राप्त विवरणमा अन्य ३ जना निर्विरोध निर्वाचत उम्मेदवारको दल खुल्न सकेको छैन ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०७४