२३ वैशाख, काठमाडौँ । दोस्रो संविधानसभा निर्वाचनको अवधिमा आमहडताल घोषणा गरी बहिस्कारमा उत्रिएका मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले पनि स्थानीय तह निर्वाचनमा सहभागिता जनाउदै छ । पार्टीले आफ्नै नाममा निर्वाचनमा भाग नलिए पनि नेता सिपी गजुरेलको नेतृत्वमा देशभक्त जनगणतान्त्रिक मोर्चा गठन गरेर त्यसैको नाममा चुनावमा भाग लिइरहेको छ । संसद्मा प्रतिनिधित्व नगरेकै कारण सो दलले चुनाव चिन्हसमेत पाएको छैन । पार्टीको चुनाव चिन्ह नपाएपछि सो दलका उम्मेदवारले स्वतन्त्र हैसियतमा फरक÷फरक चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् । पार्टी अध्यक्ष मोहन वैद्यले शनिबार जारी गरेकोे विज्ञप्तिमा पार्टीले स्थानीय तहको निर्वाचनमा भाग नलिएता पनि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाललाई समर्थन गर्ने नीति लिएको जानकारी दिएका छन । मोर्चाका उम्मेदवारको पक्षमा मतदान गर्नका लागि मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका क्षेत्र तथा बुद्धिजीवीसहित सम्पूर्ण उत्पीडित वर्ग र जनसमुदायसित अध्यक्ष वैद्यले अनुरोध गरेका छन । नयाँ जनवादी क्रान्तिको तयारी गर्न, गलत राजनीतिको विरोध गर्न, भ्रष्टाचारीलाई दण्डसजाय दिन र जनताको सेवा गर्नका लागि स्थानीय निर्वाचन पनि एउटा उपयुक्त माध्यम हुनसक्ने आफूहरुले देखेको विज्ञप्तिमा उल्लेख छ । सो उद्देश्यमा सहयोग पु¥याउनका लागि मोर्चाका उमेदवारलाई मत दिई विजयी बनाउन सबैसँग वैद्यले आग्रह गरेका छन । माओवादी केन्द्रबाट छुट्टिएर गएको क्रान्तिकारी माओवादीले सो पार्टीसँग स्थानीय तहको निर्वाचनमा तालमेल गर्न भने अस्वीकार गरेकोे छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०७४