२० वैशाख, काठमाडौँ । आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ । सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि प्रत्येक वर्ष युनेस्कोको आह्वानमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको हो । यस वर्ष दिगो विकास लक्ष्य हासिल गर्न स्वतन्त्र र गुणस्तरीय मिडियाको विकासलाई केन्द्रित गरी अभिव्यक्ति स्वतन्त्रता, सबैका लागि न्याय, कानुनको शासन, शान्ति र समावेशीताबीचको सम्बन्धलाई उजागर गरी मनाईंदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाईंदै छ । नेपाल पत्रकार महासंघले काठमाडौंको बानेश्वरदेखि माइतीघर मण्डलासम्म प्रभात गरेको छ भने अहिले केहीबेरमा बानेश्वरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

प्रभात फेरिपछि सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र बिष्टले सम्पूर्ण आमसञ्चारकर्मीमा दिवसको शुभकामना दिए । उनले नेपालमा अझै पनि प्रेस स्वतन्त्रता हननका घटनामा कमी नआएको बताए । उनले पत्रकारहरुले स्वतन्त्ररुपमा कलम चलाउने अवस्था नरहेको भन्दै यसका लागि राज्य गम्भिर हुनुपर्ने बताए । एक वर्षको अवधिमा नेपालमा प्रेस स्वतन्त्रता हननका ७० वटा घटना भएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघ सञ्चार अनुगमन इकाईमा दर्ता भएका घटनाअनुसार सबैभन्दा बढी पत्रकारमाथिको दुव्र्यवहारका १६ वटा घटना भएका छन् । पत्रकार पक्राउ ११ र पत्रकारमाथिको आक्रमणका ११ वटा घटना भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०७४