१४ वैशाख, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनमा नागरिक समाज र गैरसरकारी संस्थाका प्रतिनिधिलाई राजनीतिक दलको भ्रातृसंस्थाका रुपमा नभई निष्पक्ष र स्वतन्त्र भूमिका निर्वाह गर्न अपिल गरेका छन । नागरिक समाज र गैरसरकारी संस्थाका प्रतिनिधिसँग आज भएको अन्तक्र्रियामा उनले भने– “गैरसरकारी संस्थाका प्रतिनिधिले निर्वाचन आचारसंहिताको परिधिमा रहेर आफ्ना गतिविधि र कार्यक्रम सञ्चालन गर्नुहोला । निर्वाचन शीर्षकमा नेपाली जनताको नाममा भएको रकम र सहयोगलाई मतदाता शिक्षामा सदुपयोग गर्न सुझाव दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले आगामी निर्वाचनको समयमा कुनै दल विशेष र मतदातालाई प्रभाव पार्ने ढङ्गबाट नभई गैरसरकारी संस्थाको गरिमा बढाउने स्वतन्त्र र निष्पक्ष भूमिकामा रहन सुझाव दिए । उनले भने– “ समावेशी लोकतन्त्रलाई समाजका सबै समुदायले उपयोग गर्ने वातावरण बनाउन तथा निर्वाचनमा मतदान गर्नेमात्र नभएर स्वच्छ, स्वतन्त्र र भयरहित वातावरण बनाउने नागरिक समाज र गैरसरकारी संस्थाले जिम्मेवारी लिनुपर्छ । नेपालमा २५४ अन्तर्राष्ट्रिय तथा ३९ हजार ६६२ राष्ट्रिय गैरसरकारी सङ्घसंस्था दर्ता रहेको सो अवसरमा जानकारी दिइयो । नेपालमा दर्ता भएका गैरसरकारी सङ्घसंस्थाले आर्थिक विकास, सामाजिक रुपमान्तरण, सुशासन, मानवअधिकार, शान्ति, महिला सशक्तीकरण, बालअधिकार, शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्य गर्दै आएका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०७४