१२ वैशाख, काठमाडौँ । व्यवस्थापिका–संसद्को बैठक बुधबार ११ बजेसम्मका लागि स्थगन गरिएको छ । संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले विशेष कारणवश संसद् बैठक स्थगन गरिएको सूचना प्रकाशित भएको जानकारी दिए । यसअघि आज संसद् बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद गङ्गालाल तुलाधरले सरकारले सदनमा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव जायज नभएको भन्दै त्यसप्रति विरोध जनाएका थिए । उनले सम्बन्धित मन्त्रीले संविधान संशोधनको प्रस्तावका सम्बन्धमा सदनलाई जानकारी नगराइकन बैठक अगाडि जान नसक्ने तर्क गरे । त्यसपछि एमालेका सांसदहरु आ–आफ्नो ठाउँबाट उभिएर बिरोध गरे । सभामुख ओनसरी घर्तीले १५ मिनेटका लागि स्थगन गरेको बैठक पछि सूचना टाँस गरेर स्थगित गरियो ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०७४