१० वैशाख, काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले सरकार र आन्दोलनरत मधेस केन्द्रित दलबीच शनिबार भएको सहमतिलाई अनुमोदन गरेको छ । दलको आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कार्यालय बैठकले सरकार र मोर्चाबीच भएको सहमतिलाई अनुमोदन गरी स्थानीय तहको निर्वाचन भयरहित तवरले सम्पन्न गराउन आवश्यक पहल गर्नसमेत आग्रह गरेको छ । सरकार र मोर्चाबीच भएको सहमतिले स्थानीय निर्वाचनको वातावरण बनेको र यो संविधान कार्यान्वयनको दिशामा कोसेढुङ्गा कायम भएको जनाउँदै प्रमुख राजनीतिक दलले आआफ्नो राजनीतिक कर्तव्य पूरा गर्नसमेत बैठकले आग्रह गरेको छ । लामो कसरतपछि सरकार, मोर्चा र प्रमुख दलबीच निर्वाचनलाई नै केन्द्रमा राखेर सहमति हुनु सुखद रहेको जनाउँदै माओवादी केन्द्रले सहमतिको प्रयासमा प्रमुख भूमिका खेल्ने सबैलाई धन्यवादसमेत दिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।
प्रकाशित मिति: शनिबार, वैशाख ९, २०७४