८ वैशाख, काठमाडौँ । साझा यातायातले भक्तपुरमा ‘रुट परमिट’ माग गरेको एक महिना बित्दा पनि यातायात व्यवस्था विभाग वाग्मती अञ्चल कार्यालयले अनुमति दिएको छैन । साझाले फागुन ३० गते ‘रुट परमिट’ माग गर्दै विभागमा पत्राचार गरेको थियो । अनुमति लिएर नयाँ वर्षको अवसर पारी वैशाख १ गतेदेखि कोटेश्वरसम्म चल्ने साझा यातायात भक्तपुरमा गुडाउने योजना थियो । यातायात क्षेत्रको अध्ययन अनुसन्धानमा लाग्नुभएका भक्तपुरका स्थानीयवासी रामबहादुर थापा यातायात व्यवसायीको दबाबमा विभागले अनुमति नदिएको बताउँछन । साझा यातायातमा मन्त्रालय, विभाग एवम् सरकारी संस्थाको सबैभन्दा बढी सेयर छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले यातायातमा एकाधिकार लाद्न नपाउने व्यवस्था गरेको छ । उपभोक्ता अधिकारवादी ज्योति बानियाँ सर्वोच्च अदालतले पनि ‘रुट परमिट’ लगायत विषयमा एकाधिकार (सिन्डीकेट) अन्त्य गराउन सरकारका नाममा आदेश दिएको बताउछन । कार्यालयका प्रमुख बसन्त अधिकारी साझाका बस कोटेश्वरबाट भक्तपुर लैजादा जे पनि हुनसक्ने भनी केही यातायात समितिले उजुरी दिएकाले ‘रुट परमिट’ दिन ढिलाइ भएको बताउँछन । हाल उपत्यकामा साझाका ४६ बस सञ्चालनमा छन् । सार्वजनिक बिदा, बन्द र हड्तालमा समेत साझाले सेवा सञ्चालन गर्ने भएकाले उपत्यकाका सबै मार्गमा चलाइनुपर्ने यात्रुको माग छ । अन्य यातायात समितिले मन नलागे सवारी थन्क्याएर बस्ने गरेकाले यात्रुले दुःख पाउने गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०७४