४ वैशाख, काठमाडौँ । यही वैशाख ३१ गते आइतबार हुने स्थानीय तहको निर्वाचन सम्पन्न गराउन ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मुलुकका सातै प्रदेशमा अातइबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । प्रत्येक जिल्लाको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशलाई तोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने क्रममा मधेसका केही जिल्लामा मोर्चा सम्बद्ध घटकले केही अवरोध सिर्जना गर्ने प्रयास थिए । यद्यपि, आइतबार अपराह्नसम्म सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएका छन् । मुलुकका सातै प्रदेशमा जम्मा ७४४ वटा स्थानीय तह निर्वाचनका लागि ७५ मुख्य निर्वाचन अधिकृत र ६६९ निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले यसअघि नै नियुक्ति गरिसकेको छ । आयोगले ६६९ निर्वाचन अधिकृतको कार्यालय पनि यही वैशाख १२ गते स्थापना गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०७४