३ चैत, काठमाडौँ । भारतीय प्रमुख तीन सहर मुम्बई, हैदराबाद र चेन्नईस्थित विमानस्थलबाट आइतबार विमान अपहरण प्रयासको हल्ला चलेपछि उक्त विमानस्थलमा उच्च सतर्कता अपनाएको यहाँका अधिकारीले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल मुम्बई, हैदराबाद, चेन्नईबाट विमान अपहरणको सूचना सुरक्षा निकायलाई एक महिलाबाट शनिबार राति इमेलमार्फत आएपछि उच्च सतर्कता अपनाइएको मुम्बई प्रहरीले जनाएको छ । उक्त महिलाले आफूले छ अज्ञात केटाले विमानस्थलमा सम्भावित आक्रमण हुनलागेको र ती मुम्बई, हैदराबाद, चेन्नई विमानस्थल रहेको भन्ने कुराकानी सुनेको भनी प्रहरीलाई इमेल गरेकी जनाएकी थिइन् । भारतको विमानस्थल सुरक्षाको जिम्मेवारी पाएको अर्धसैनिक भारतीय औद्योगिक सुरक्षाबलका उच्च अधिकारीले सम्भावित विमान अपहरणको सूचना पाएपछि ती विमानस्थलमा सुरक्षास्थितिलाई कडा बनाइएको जनाए । भारतले यसअघि सन् १९९९ को डिसेम्बरमा नेपालको राजधानी काठमाडौँबाट दिल्लीका लागि छुटेको भारतीय एअरलाइन्सको आईसी ८१४ को उडानलाई एक लडाकू समूहले अपहरण गरेपछि त्यसलाई सुरक्षित रूपमा समाधान गरेको थियो । उक्त विमानलाई अफगानिस्तानको कान्दाहरमा लगेर अवतरण गराइएको थियो र विमान र विमानमा सवार १६६ जनाको सुरक्षाका लागि भारतले तीन उच्च लडाकूलाई रिहा गरेको थियो ।
प्रकाशित मिति: शनिबार, वैशाख २, २०७४