२ वैशाख, काठमाडौँ । पछिल्लो समय काठमाडौँको केशरमहलमा रहेको स्वप्न बगैँचा बिदाको दिन घुमफिर गर्ने आकर्षक गन्तव्य बन्दै गएको छ । सन् १९२० मा केशरशमशेरले ६ वटै ऋतुअनुसार स्वप्न बगैँचामा ऐतिहासिक र शास्त्रीय शैलीमा ६ वटा सदन निर्माण गरेका थिए । बिहान ९ देखि राति १० बजेसम्म खुला रहने बगैँचा पारिवारिक घुमफिरमा निस्कन मन पराउनेका लागि आकर्षक छ । १२ रोपनी जग्गामा निर्माण गरिएको स्वप्न बगैँचाका ६ वटा सदनमध्ये अहिले तीनवटा बसन्त, गृष्म र वर्षा प्रयोगमा छन् । ऋतुअनुसार फरक–फरक आनन्द लिने उद्देश्यले मौसमअनुसारको सदन निर्माण गरेको स्वप्न बगैँचाका कार्यकारी निर्देशक समेत रहेका शिक्षा मन्त्रालयका उपसचिव ध्रुवराज रेग्मीले जनाकारी दिए ।

स्वप्न बगैँचा मूलतः युरोपियन शैलीबाट निर्माण गरिएको छ । सन् १९०७ मा सिंहदरबारको संरचना निर्माण गर्ने प्रसिद्ध वास्तुविद् किशोरनरसिंहले नै स्वप्न बगैँचाको डिजाइन र सुपरिवेक्षण गरेको रेग्मीले बताए । उनले बगैँचाभित्र सदन, झरना, पोखरी, युरोपियन शैलीबाट प्रभावित बरन्डा, परगोला, बालस्ट्रेडवाल, चराहरू बस्ने घर, युनिक लेन्स केपिङ, चाइनिज मुनगेट, अर्धचन्द्राकार पोखरी, ग्यास फलेम, केशर ग्यालरीलगायतको विभिन्न आकर्षण रहेको छ । उनले नेपालीलाई एक सय रुपैयाँ र विदेशीलाई दुई सय रुपैयाँ प्रवेश शुल्क लिने गरेको बताए । औसतमा दैनिक सात सय मानिस आउने गरेको रेग्मीले बताए । उनले वैशाख १ गते नयाँ वर्षको दिन चार हजार पाँच सय मानिसले स्वप्न बगैँचा घुमेको बताए । तस्बिरहरूः माधवप्रसाद तिवारी ।









प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०७४