२८ चैत, नुवाकोट । फागुन २७ गते राजपत्रमा सूचना जारी गर्दै स्थानीय निकाय भङ्ग भएको एक महिना पूरा भए पनि नुवाकोटको बेलकोटगढी नगरपालिकाको कार्यालय अझै सञ्चालनमा आएको छैन । कार्यालय शुभारम्भ नहुँदा सर्वसाधारणले राज्यले प्रवाह गर्ने सेवा पाउनबाट वञ्चित भएका छन् । स्थानीय निकाय भङ्ग भएसँगै विभिन्न ६ गाविस मिलेर निर्माण भएको बेलकोटगढी नगरपालिकाले प्रवाह गर्ने सेवा एक महिना हुँदा पनि सुरु नहुँदा नागरिक यसअघिको जस्तै राज्यले प्रवाह गर्ने सेवा लिन सदरमुकाम विदुर धाउन बाध्य छन् । सरकारले नगरपालिकाको कार्यकारी अधिकृत चयन गरेको हरिप्रसाद चापागाईं जिल्लामा ढिला गरी आएको र तोकिएको केन्द्रमा भौतिक पूर्वाधार पर्याप्त नभएको भन्दै जान अस्वीकार गर्दा बेलकोटगढी नगरपालिकाका नागरिक सदरमुकाम विदुरमा रहेको साबिकको गाविस तथा अहिले रुपान्तरण भएको वडा कार्यालयमा धाउन बाध्य भएका छन् ।
नगरपालिकाको कार्यालय सञ्चालन नहुँदा वडा कार्यालयबाट प्रवाह हुने सेवा पनि प्रभावकारी नभएको दुई पिपलका रामप्रसाद नेपालले बताए । जिल्लाको अन्य स्थानको कार्यालय स्थापना भइसकेको लामो समय भइसक्दा बेलकोटगढी नगरपालिकाको कार्यालय सुरु गर्न केन्द्र कहाँ राख्ने भन्ने विवादले समस्या भएको जिल्ला समन्वय समिति नुवाकोटका स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले बताए । कार्यालय सञ्चालनका लागि केन्द्र तोकिएको स्थान बाघाखोरमा ३२ कोठे सामुदायिक आवास भवन भए पनि विद्युत, सञ्चार, बजारीकरण, व्यवस्थित सडक नभएको भन्दै कार्यकारी अधिकृत जान अस्वीकार गर्दै आएका छन् । विकासको पर्याप्त सम्भावना रहेको कुमारी, दुईपिपल, रातमाटे, जिलिङ, बेलकोट र मदानपुरको वडा नम्बर ७ र ८ बाहेकको बाँकी भूभाग मिलाएर बेलकोटगढी नगरपालिकाका र त्यसको केन्द्र जिलिङको बाघाखोर कायम गरी बेलकोटगढी नगरपालिकाको स्थापना गरिएको छ । नुवाकोटमाा १२ वटा स्थानीय तह रहेकामा ११ वटा सुरु भइसकेको छ । सञ्चालनमा भएका मध्ये पाँचवटा कार्यालयले मात्र सेवा सञ्चालनलाई निरन्तरता दिइरहेका छन् भने बाँकी कार्यालय बोर्डमा मात्र सीमित छ । रासस
प्रकाशित मिति: आइतबार, चैत २७, २०७३