२४ चैत, काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले टेलिभिजन र रेडियोको सञ्चालन अनुमति तथा नियमन गर्नका लागि छुट्टै निकायको आवश्यकता भएको बताएका छन । प्रविधि पत्रकार मञ्चले बिहीबार गरेको ‘प्रविधियुक्त टेलिभिजनको आवश्यकता’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले मन्त्रालयबाट टेलिभिजन र रेडियो सञ्चालनको अनुमति तथा नियमन गर्न सम्भव नभएकाले अधिकार प्राप्त छुट्टै निकाय गठन गर्नुपर्ने आवश्यकता औँल्याए । मन्त्री कार्कीले संसारमा बढिरहेको प्रविधिको गतिअनुसार नेपालमा तयारी नभएको विचार व्यक्त गरे । कार्यक्रममा मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले २०७४ साल वैशाख १५ गतेसम्म महानगर र २०७५ वैशाख १५ सम्म देशभरिका सबै केवल टेलिभिजनलाई प्रविधियुक्त टेलिभिजनमा लैजाने जानकारी दिए । मन्त्रालयले केवल टेलिभिजनलाई प्रविधियुक्तमा लैजानका लागि विसं २०७१ कात्तिकबाट केवल टेलिभिजनको सञ्चालनको अनुमतिपत्र बन्द गरेको छ ।
प्रकाशित मिति: बुधबार, चैत २३, २०७३