२४ चैत, काठमाडौँ । सिरियामा लगातार आम मानिस मारिइरहेको बारेमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा छलफल भएको छ । छलफलमा शक्ति राष्ट्रहरुले आ–आफ्नै दलील पेश गरेका छन् । अमेरिकालगायत राष्ट्रले सिरियाली राष्ट्रपति बशर अल असदको तानाशाही सीमाभन्दा बाहिर पुगेकाले लगाम लगाउनुपर्नेमा जोड दिएका छन् । रुस भने सिरियाको पक्षमा ढाल बनेर उभिएको छ । बैठकमा राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले सिरिया सरकारमाथि नियन्त्रण नगरेकामा रुसको आलोचना गर्दै असदको बर्बरता अन्त्य हुन अरु कति बालबालिका मारिनुपर्ने हो भन्दै प्रश्न गरिन् । संयुक्त राष्ट्रसंघ यस मामलामा एकजुट नहुने हो भने अमेरिका एक्लैले उपयुक्त कदम चाल्ने चेतावनी पनि राजदूत हेलीले दिइन् । रुस असदको पक्षमा उभिएकाले राष्ट्रसंघका यस्ता छलफल पटक पटक अनिर्णित बन्ने गरेका छन् । रुसले भने असदको सत्ताले रासायनिक आक्रमण गरेको भन्ने प्रचार गलत भएको भन्दै सिरिया सरकारको बचाउ गरेको छ ।
प्रकाशित मिति: बुधबार, चैत २३, २०७३