२२ चैत, काठमाडौँ । स्थानीय निर्वाचनमा सहभागी हुनका लागि प्रवासमा रहेका नेपालीहरुलाई स्वदेश फर्कन नेकपा एमालेले आग्रह गरेको छ । मंगलबार एक विज्ञप्ति मार्फत एमालेले दुई दशकपछि आयोजना हुन लागेको निर्वाचनमा स्वदेश फर्किएर सक्रियतापूर्वक भाग लिन आग्रह गरेको हो । यस्तै स्थानीय निर्वाचनका लागि एमालेले घोषणापत्र तयारी छलफल शुरु । आसन्न स्थानीय निर्वाचनका लागि एमालेको घोषणापत्र तयार पार्न उपाध्यक्ष वामदेव गौतमको अध्यक्षतामा गठित घोषणापत्र मस्यौदा कमिटीको पहिलो बैठक आज सम्पन्न भएको छ । बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट बनाइने घोषणापत्रका बारेमा प्रारम्भिक छलफल भएको छ । नेपाली जनताका प्रतिनिधिहरुद्वारा संविधानसभामार्फत जारी संविधानले नै अबको हाम्रा कार्यभार आर्थिक–सामाजिक रुपान्तरणमार्फत समाजवादउन्मुख तय गरिसकेकाले समाजवाद प्राप्तिका लागि आवश्यक घोषणापत्र जनतासमक्ष लैजाने गरी छलफल अघि बढाइएको छ । यसैगरी, महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा गठित स्थानीय निर्वाचन समन्वय तथा अनुगमन समितिको बैठक पनि आजै बसेको छ । बैठकमा पार्टीका तर्फबाट कामहरुका बारेमा छलफल भएको छ । हिजो बसेको स्थायी समितिको बैठकले यसअघि नै स्थानीय निर्वाचनलाई ध्यानमा राखी मातहतका सम्मेलन तथा अधिवेशनहरु स्थगित गर्ने निर्णय गरिसकेको परिप्रेक्ष्यमा देशबाहिर रहेका प्रवासी नेपाली मञ्चका अधिवेशनहरु बैशाखदेखि जेठको पहिलो सातासम्म स्थगित गर्ने निर्णय गरेकाले सोही अनुसार मातहत कमिटीहरुलाई निर्देशन दिइएको छ ।
प्रकाशित मिति: सोमबार, चैत २१, २०७३