काठमाडौं : लोकसभा निर्वाचनमा अत्याधिक सफलता पाएको भारतीय जनता पार्टीले नयाँ सरकार बनाउने पक्का भइसकेको छ । पार्टीलाई लोकप्रिय मतका साथ विजय गराउन सफल नरेन्द्र दामोदरदास मोदीले नै भाजपाकातर्फबाट सरकारको नेतृत्व गर्ने निश्चित छ । भाजपाले मोदीलाई नै प्रधानमन्त्री बनाउने नारा लिएर चुनावमा भाग लिएको थियो ।
कट्टर हिन्दुवादी मानिने भाजपाको जितसँगै अब सो पार्टीबाट को को मन्त्री बन्लान् भन्ने चर्चा पनि भारतीय सञ्चारमाध्यममा शुरु भएको छ । जसअनुसार यसपटक भाजपाका अध्यक्ष अमित शाहसमेत सरकारमा जाने विश्लेषण गरिएको छ । भाजपाभित्र शाहले गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नेबारे आन्तरिक छलफल भइरहेको छ । विदेश मन्त्री कसलाई बनाउने भन्नेबारे पनि भाजपामा छलफल जारी रहेको छ । मोदी सरकारमा विदेशमन्त्री रहेकी सुष्मा स्वराज दोहोरिने सम्भावना कम रहेको आंकलन गरिएको छ । छ । यदि शाह गृहमन्त्रीका रुपमा सरकारमा सहभागि भए अहिलेका गृहमन्त्री राजनाथ सिंघलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइने चर्चा छ ।
भारतीय प्रधानमन्त्री मोदीले भारतको तल्लो सदन लोकसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको केही घन्टा नबित्दै प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए । हालै सम्पन्न १७ औं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले अत्यधिक बहुमत ल्याएको हो । अन्तिम मतपरिणामअनुसार एनडिएले ३५० सिट जितेको छ । र, भाजपा एक्लैले ३०२ सिट जित्न सफल भएको छ । विपक्षी भारतीय राष्ट्रिय कांग्रेस भने ५२ सिटमा सीमित भएको छ । भाजपा र एनडिएको ऐतिहासिक जितसँगै नरेन्द्र मोदीले विश्वकै सबैभन्दा ठूलो लोकतन्त्रको संघीय सरकारको नेतृत्व गर्ने पक्कापक्की छ ।
प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६