२२ चैत, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणे ‘पिक आवर’मा देशभर लोडसेडिङ नहुने घोषणा गरेको छ । मंगलबार प्राधिकरणको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवन्ध निर्देशक कुलमान घिसिङले देशभर ‘पिक आवर’को लोडसेडिङ समेत हटेको घोषणा गरे । उनले अब काठमाडौंका ट्रान्सर्फमर अपग्रेडिङ गर्ने बताए । उनले लोडसेडिङबारे चिन्ता गर्नु पर्ने अवस्था समाप्त भएको बताए । घिसिङले देशभर पिक आवरमा लोडसेडिङ नहुने बताए । प्राधिकरणले विहान ५ देखि ८ बजे र साँझ ५ देखि साढे ८ बजेस्म्मलाई पिक आवर मानेको छ ।
विद्युत्भार कटौती मुक्त गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले करिब रु १५ अर्ब बराबरको विद्युत् भारतबाट आयात हुने बताएको छ । हालसम्म प्राधिकरणले रु नौ अर्ब छ करोड ८४ लाख बराबरको विद्युत् आयात गरेकामा बाँकी रहेको तीन महिनामा थप रु छ अर्ब बराबरको विद्युत् आयात हुने प्रक्षेपण गरिएको हो । प्रक्षेपण गरिएकोभन्दा कम पनि हुनसक्ने प्राधिकरणको बुझाइ छ । घिसिङले गत वर्ष करिब रु १४ अर्ब बराबरको विद्युत् आयात भएको जानकारी दिए । गत वर्ष रु १३ अर्ब ९७ करोड २१ लाख ९४ हजार ५२२ मूल्यको विद्युत् आयात गरिएको थियो । चालु आवको अन्त्यसम्म हिसाब गर्ने हो भने करिब रु एक अर्ब बढीको मात्रै विद्युत् थप आयात हुनेछ ।
ऊर्जा सङ्कटलाई समाधान गर्न मात्रै तत्कालका लागि विद्युत् आयात गरिएको र केही आयोजना सम्पन्न भएपछि प्राधिकरण आफैँले विद्युत् निर्यात गर्नुपर्ने अवस्था आउने प्राधिकरणको भनाइ छ । प्रतिशतको हिसावमा गत वर्षभन्दा १।४४ प्रतिशत मात्रै बढी विद्युत् आयात हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । गत वर्ष रु ३२ अर्ब कुल आम्दानी गरेको प्राधिकरणले यस वर्ष रु १२ अर्ब बढी रु ४४ अर्ब आम्दानी गर्नेछ । गत वर्ष पाँच हजार गिगावाट आवर विद्युत् उपलब्ध भएकामा यस वर्ष छ हजार गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । यो वर्ष प्राधिकरणले एक अर्ब ९७ अर्ब २० करोड युनिट बिजुली भारतबाट आयात गरेको र गत वर्ष एक अर्ब ७३ करोड नौ लाख युनिट बिजुली आयात भएको थियो । चैतमा वर्षात् भइरहेकाले पनि आन्तरिक बिजुली उत्पादन बढेको र केही आधा दर्जन आयोजना सम्पन्न भई १०५ मेगावाट बिजुली उत्पादन थप भएको उनको भनाइ छ ।
चुहावट चार प्रतिशतले घट्यो
प्राधिकरणले देशव्यापी अभियानका रुपमा बढाएको विद्युत् चुहावट तथा चोरी नियन्त्रण अभियानले हालसम्म करिब चार प्रतिशतले चुहावट र चोरीमा कमी आएको जनाएको छ । त्यसबाट प्राधिकरणलाई रु एक अर्ब २० करोड बराबरको आम्दानी भएको छ । चालु आवको अन्त्यसम्म करिब पाँच प्रतिशत विद्युत् चुहावट कम हुनेगरी कार्य अगाडि बढाइएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।
हुँदै नभएको महसुलको गलत प्रचार
कार्यकारी निर्देशक घिसिङले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले हुँदै नभएको महसुल प्राधिकरणले तिरेन भनेर गराइएको प्रचार पूर्णत गलत भएको बताए ।विभिन्न आयोजनाले घर भाडामा लिँदा बाँकी रहेको केही रकम प्राधिकरणले तिनुपर्ने हुनसक्ने तर प्रचार गरिएजस्तो रु ५० करोड बक्यौता रहेको भन्ने प्रचार असत्य रहेको बताए । प्राधिकरणले लिमिटेडलाई रु ४४ लाख मात्रै महसुल तिर्न बाँकी रहेको र त्यो पनि विभिन्न आयोजनाका नाममा रहेको महसुल मात्रै रहेको जानकारी दिए । प्राधिकरणले लिमिटेडलाई के कति महसुल तिर्नुपर्ने हो सो को जानकारी दिन र आधिकारिक पत्राचार गर्न आग्रह गरेको समेत उनकाे भनाइ छ ।
प्रकाशित मिति: सोमबार, चैत २१, २०७३