२१ चैत, चितवन । चितवनमा सोमबार बिहान खसेको सुख्खा पहिरोले दुई जनाको ज्यान गएको छ । मुग्लिन–नारायणगढ सडक खण्डको घुमाउनेमा खसेको सुख्खा पहिरोले गाडी पुरिँदा २ जनाको मृत्यु भएको हो । पहिरोमा पुरिएका अर्का दुई जनाको सकुशल उद्दार गरिएको छ । उद्धार गरिएका लमजुङका १५ बर्षीय सञ्जीव राना र बीरगञ्जका ३६ बर्षीय बन्नु पटेलको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको चितवनबाट पत्रकार शिशिर सिम्खडाले जानकारी दिनुभयो । अहिले मुग्लिन–नारायणगढ सडक खण्डको विस्तारको काम भइरहेको छ । विहान १० बजेदेखि ४ बजेसम्म बाटो बन्द गरेर विस्तार गर्ने गरिएको छ । तर, आज भरतपुर २० मा पर्ने घुमाउनेमा सुख्खा पहिरो खस्दा सडकमा गुडिरहेका गाडी पुरिएका छन । प्रहरीका अनुसार पहिरोमा ट्यांकर, जिप, ट्रक र दुई वटा मोटरसाइकल परेको छ । ठूलठूला ढुंगाहरु नै खस्दा सवारी साधनमा क्षति पुगेको छ ।


प्रकाशित मिति: आइतबार, चैत २०, २०७३