२१ चैत, डोटी । डोटीको दीपायलको पिपल्ला बजारमा भएको आगलागीमा साढे दुई करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ । आगलागीबाट दुई करोड ६१ लाख १८ हजार ४ सय १८ रुपैयाँको नोक्सानी भएको लगत निस्किएको इलाका प्रहारी कार्यालय दीपायलका प्रमुख दिलबहादुर कुँवरले जानकारी दिनुभयो । आइतबार जेबी आयल स्टोरमा ट्यांकरबाट पेट्रोल खन्याउने बेला आगो सल्कँदा पेट्रोल पम्पसहित तीन पसल जलेर नष्ट भएका छन् । ना २ ख ४५७९ नम्बरको पेट्रोल भरिएको ट्यांकर र आठ मोटरसाइकल पनि जलेर नष्ट भएका छन् । पेट्रोलपम्प नजिकै रहेको डेभिड सर्भिस प्वाईन्टले बेच्न राखेको एक स्कुटरसहित चार वटा अनटेस्टमोटर साइकल, मर्मतका लागि ग्यारेजमा राखिएका से ३ प ४५०० तथा डिभिजन सडकको से १ ब २५७ नम्बरको गाडी, सागर भटट्को से १ प ७७४ नम्बरको मोटरसाइकल पनि जलेका छन् ।
प्रकाशित मिति: आइतबार, चैत २०, २०७३