१७ चैत, काठमाडौँ । मौसम प्रतिकुलतका कारण पोखरा विमानस्थलबाट हुने उडान सेवा प्रभावित भएको छ । मौसममा आएको परिवर्तनसँगै भिजिविलिटी पर्याप्त नहँुदा पोखराबाट हुने सबै उडान प्रभावित भएको विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिनुभयो । खराब मौसमका कारण हिजोका केही उडान र आज बिहानका सबै उडान पनि प्रभावित भएको उहाँले बताउनुभयो । हिजो पोखराबाट हुनुपर्ने बुद्ध एयरका छ वटा उडानमध्ये एक मात्र उडान भएको थियो भने यति एयरका आठ वटामध्ये तीन वटा उडान भएको थियो । त्यस्तै सिम्रिक एयरको हिजो हुनुपर्ने तीनमध्ये दुई वटा मात्र उडान भएको पौडेलले जानकारी दिनुभयो । आज पनि जोमसोमको लागि तय भएका सिम्रिक र तारा एयरका तीन-तीन उडान हुन सकेको छैन । आज बिहान ११.०० बजेसम्म पोखराबाट काठमाडौँका लागि हुनुपर्ने कुनै पनि उडान हुन नसक्नुका साथै दृष्यावलोकनका लागि उड्ने गरेको अल्ट्रालाइट सेवा र सराङकोटबाट हुने प्याराग्लाइडिङ समेत प्रभावित हुँदा पर्यटक समस्यामा परेका छन् ।
प्रकाशित मिति: बुधबार, चैत १६, २०७३