१५ चैत, काठमाडौँ । अवैध रुपमा घरेलु कामदारका रुपमा महिलालाई खाडी राष्ट्रमा पठाउने कार्यमा अध्यागमन विभागका कर्मचारीको मिलेमतो देखिएको छ । खाडीका साउदी अरब, कुबेत, कतार, संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका नेपाली कामदारको अवस्थाबारे स्थलगत अध्ययन गरेर मंगलबार स्वदेश फर्किएका अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको टोलीले अध्यागमन विभागमा मानवतस्करहरुले ‘सेटिङ’को जालो बनाएको बताएको छ । नेपाली कामदारको अवस्थाबारे स्थलगत अध्ययन गर्न सो टोली यही चैत ५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
समितिका सभापति प्रभु साहले अध्यागमन विभागका कर्मचारीको मानवतस्करसँग मिलोमतो हुनु गम्भीर कुरा भएको भन्दै यसबारे छानबिन गर्न सरकारलाई सिफारिस गरिने बताउनुभयो । उहाँले भन्नुभयो – “त्यसरी अवधै रुपमा जानेहरु आधाभन्दा बढीले नेपालकै अन्तर्रा्ष्ट्रिय विमानस्थल प्रयोगगरी गएको देखियो । बाँकीमात्रै भारत र श्रीलङ्का हुँदै गएको भेटियो । मानवतस्करले अध्यागमनबाट बेरोकतोक पर्यटक प्रवेशाज्ञामा दुबई, कुबेत पठाउने र त्यहाँबाट साउदीअरब, कतार, ओमन पठाउने गरेको भ्रमणको क्रममा भेटिएको उहाँले बताउनुभयो ।
साउदीमा मात्रै ३० हजारभन्दा बढी महिला अवैध रुपमा घरेलु कामदारका रुपमा गएको र अन्य मुलुकमा समेत त्यो सङ्ख्या धेरै रहेको संसदीय समितिले जनाएको छ । खाडीमा अवैध रुपमा घरेलु कामदारका रुपमा गएका अधिकांश महिलाले दुःख पाएको भेटिएको सभापति साहले बताउनुभयो । चार मुलुकको दूतावासमा अस्थायी रुपमा दर्जनाँै महिलालाई उद्धार गरेर राखिएको टोलीले जनाएको छ । ती महिलासँग संसदीय टोलीले छलफल गरेको थियो ।
प्रकाशित मिति: सोमबार, चैत १४, २०७३