१३ चैत, काठमाडौँ । रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा आगामी मंगलबार हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगन गर्न नौ विद्यार्थी संगठनले माग गरेका छन् । सत्तारुढ दलका नौ विद्यार्थी संगठनले विज्ञप्ति जारी गरी स्नातकोत्तर तह द्वितीय वर्षको परीक्षा भइरहेको र निर्वाचनमा सबै विद्यार्थी संगठनको सहभागी हुने वातावरण नभएकाले हाल निर्वाचन स्थगन गरी नयाँ मिति तोक्न क्याम्पस प्रशासनसँग माग गरेका छन् । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले ‘विद्यार्थी संगठनहरुलाई बाहिर राखेर निर्वाचन गर्न थालिएकाले’ स्थगन गर्नुपर्ने बताउनुभयो ।
यसअघि फागुन २३ गते स्ववियु निर्वाचन स्थगन भएको थियो । सर्वोच्च अदालतले काठमाडौंका प्रमुख जिल्ला अधिकारी र क्याम्पस प्रशासनका नाममा निर्वाचन गर्न यही चैत २ गते अन्तरिम आदेश जारी गरेपछि क्याम्पस प्रमुख डा. निर्मलकुमार सुवालले शनिबार सूचना प्रकाशन गरी मंगलबार नयाँ मिति तोक्नुभएको हो । अनेरास्ववियु (क्रान्तिकारी)का प्रवक्ता सुरेन्द्र बस्नेतले अदालतको आदेशभन्दा पनि विद्यार्थी संगठनको सहमतिमा निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो । आरआरमा नेपाल विद्यार्थी संघ, अखिल छैटौँ र अखिल पाँचौँले मनोनयनपत्रसमेत दर्ता गराएका छैनन् । क्याम्पस प्रमुखले आइतबार सूचना प्रकाशन गरी स्थगित निर्वाचन आगामी मंगलबार हुने जानकारी गराउनुभएको छ । विद्यार्थी मतदान गर्न लाइनमा बसे पनि स्थानीय प्रशासनले स्थानीय निर्वाचन आचारसंहिता लागेको जनाउँदै निर्वाचन स्थगन गराएको थियो ।
प्रकाशित मिति: शनिबार, चैत १२, २०७३