९ चैत, काठमाडौँ । उत्तर कोरियाले गरेको पछिल्लो मिसाइल प्रक्षेपण असफल भएको दक्षिण कोरियाका सुरक्षा अधिकारीले बताएका छन् । उत्तर कोरियाले देशको पूर्वी तटीय शहर वनसनबाट मिसाइल प्रक्षेपण गरेको हो । तर कतिवटा मिसाइल प्रक्षेपण गरिएको हो भन्ने अहिलेसम्म खुलेको छैन । कस्तो प्रकार र कुन क्षमताको मिसाइल हो भन्ने पनि खुलेको छैन तर प्रक्षेपण भने असफल भएको दक्षिण कोरियाले जनाएको छ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै पनि प्रकारको मिसाइल प्रक्षेपण गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । तर उत्तर कोरियाले निरन्तर मिसाइल तथा आणविक परीक्षण गर्दै आएको छ । उत्तर कोरियाको मिसाइल प्रविधि विस्तार हुँदै गएको विशेषज्ञले बताएका छन् । मार्च महिनाको सुरुमा उत्तर कोरियाले चार वटा मिसाइल परीक्षण गरेको थियो । ति मिसाइल झण्डै एक हजार किलोमिटरको दूरी पार गर्न सक्ने क्षमताका थिए । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गर्न लागेकाले त्यसको जवाफ स्वरुप उत्तर कोरियाले पछिल्लो परीक्षण गरेको तर असफल भएको दक्षिण कारियाका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७३