९ चैत, काठमाडौँ । ट्राफिक प्रहरीको वेवास्ता, राजनीतिक दबाब, व्यापारिक प्रभाव जस्ता कुराले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको छ । उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसंख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लंघन, सडक र सडकपेटीमा पार्किङ जस्ता प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ । सडक र सडकपेटीमा सवारी पार्किङ गर्न गराउन हुने राजनीतिक दबाब, व्यापारिक प्रभाव र ट्राफिक प्रहरीकै व्यवस्ताले ट्राफिक व्यवस्थापन झन जटिल र चुनौतीपूर्ण बन्दै गएको छ ।
काठमाडौँ उपत्यकाभित्रको सवारी आगमनको सुरक्षित प्रवाह गराउने उद्देश्यका साथ स्थापना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा थोरै जनशक्तिका कारण समस्या उत्पन्न भएको छ । काठमाडौँ उपत्यकामा विसं १९५८ सालमा राणाहरुले छिमेकी मुलुक भारतदेखि भीमफेदी हुँदै सवारी साधन बोकाएर काठमाडौँ ल्याएका भए पनि सर्वसाधारणले भने विसं १९७० को दशकबाट मात्र सवारी साधनको प्रयोग गर्न पाएका थिए ।
काठमाडौँ उपत्यकाको जनसङ्ख्या वृद्धिसँगै सवारी साधनको सङ्ख्या पनि अत्यधिक रुपमा बढेर गएको छ । यातायात व्यवस्था विभागको तथ्यांक अनुसार हाल काठमाडौँ उपत्यकामा झण्डै ११ लाख सवारी साधन रहेको छ । पछिलो केही वर्षयता वार्षिक एक लाखको हाराहारीमा काठमाडौँ उपत्यकामा सवारी साधन भित्रिन थालेका छन । विसं २००४ देखि सवारी साधन दर्ता प्रक्रिया सुरु भए पनि २००७ सालबाट मात्र ट्राफिक व्यवस्थापनका लागि रामदलको स्थापना भएको थियो ।

कम बाटो र सीमित सवारी साधनका कारण २०१२ सालमा केन्द्रीय ट्राफिक कम्पनीका रुपमा १२५ को संख्यामा ट्राफिक प्रहरीले काम गर्ने गरे पनि हाल एक हजार ३४६ ट्राफिक प्रहरी कार्यरत रहेको महाशाखाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरे बताउँछन । घिमिरे काठमाडौँमा सवारी साधनको चापअनुसार ट्राफिक खटाउने हो भने दुई हजारभन्दा बढी जनशक्ति आवश्यक पर्ने बताउछन । अहिले एक हजार ८५ जनाको दरबन्दी महाशाखामा भए पनि देशभरबाट तालिममा आएका ट्राफिकलाई समेत काममा खटाउनुपर्ने बाध्यता छ ।
काठमाडौँ उपत्यकाका थापाथली, केशरमहल, नयाँबानेश्वर लगायत मुख्य चोकमा कार्यालय सञ्चालन भएको दिनमा अहिले पनि तीनदेखि पाँच मिनेटसम्म सवारी साधन रोकिनुपर्ने हुन्छ । केन्द्रीय ट्राफिक कम्पनीका रुपमा रहेको महाशाखा २०४९ सालमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका रुपमा रहेको थियो । विसं २०४९ सालमा स्थापना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालय २०६३ सालमा आएर महानगरीय ट्राफिक प्रहरी महाशाखाका रुपमा स्थापना भएको हो ।

विसं २०५४ देखि विभिन्न क्षेत्र तथा जिल्ला कार्यालय खोलेर काम गरेको ट्राफिकले काठमाडौँ उपत्यकामा मात्र ३५ स्थानमा कार्यालय खोलेर सेवा दिइरहेको छ । हाल एकजना ट्राफिकले दैनिक आठ घन्टादेखि १४ घन्टासम्म काम गर्नुपर्ने अवस्था रहेको महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकाभित्र हाल एक हजार ५०० किलोमिटरको हाराहारीमा सडक भए पनि सवारी साधन ओहोरदोहोर गर्ने मुख्य सडक भने ४०० किलोमिटरदेखि ५०० किमी रहेको छ । हाल महाशाखाले उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरण गर्न मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथि कारबाही, लेन अनुशासन कारबाही, अनियन्त्रित फुटपाथमा सवारी पार्किङ गर्नेलाई कारबाही गर्न कडाइ गरेको महाशाखाले जनाएको छ । तर सडक र फुटपाथमा सवारी पार्किङविरुद्धको कारबाही जनस्तरले महशुष गर्नेगरी हुन सकेको छैन ।

हुनत कतिपय ठाउँमा फुटपाथ र सडकमा सवारी पार्किङकै लागि ट्राफिक प्रहरीले राजनीति दबाब र व्यापारीहरुको प्रभाव नखेपेको हैन । कतिपय अवस्थामा ट्राफिक प्रहरी जवानहरुको हेलचक्राई र वेवास्ताका कारण पनि ट्राफिक समस्या बढ्ने गरेको छ । ट्राफिक प्रहरी महाशाखाबाट नजिकै रहेको अनामनगर क्षेत्रका फुटपाथमा प्रायःसबै सवारीले भरिएका हुन्छन । त्यहाँ निजीमात्र हैन सरकारी सवारीसाधनहरु जेब्राक्रसिङसँगै फुटपाथमा समेत पार्किङ गरिराखेको हुन्छ । वर्षौदेखि प्रहरीले देखेपनि नदेखेझैँ गरिहेको छ । तर त्यही ट्राफिक प्रहरी प्राय गरिब निमुखाहरु उपचार गराउन जाने बीर अस्पताल अघि दैनिकजसो महानगरपालिकाको गाडीमा अनधिकृत पार्किङ भनेर मोटरसाइकल ओसारिरहेको हुन्छ । यसबाट के प्रष्ट हुन्छ भने अनधिकृत पार्किङमा ट्राफिक प्रहरी निष्पक्ष छैन ।
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७३