कुनै स्थानको विकास निर्माण अत्यधिक द्रुत गतिमा अघि बढाउनुप¥यो भने मानिसले दिनमा कति घन्टासम्म निरन्तर काम गर्ला ? यसको सहज उत्तर १२, १५ या १८ घन्टासम्म हुनुपर्छ ।
तर संसारमा एउटा यस्तो देश पनि छ, जहाँ युद्धको समयमा आफू सुरक्षित भएर दुश्मन पक्षमा क्षति पुर्याउनका लागि बनाइने बंकर बनाउन दिनरात २४सै घन्टा मजदुरहरू खट्थे । यो क्रम, एक, दुई वा पाँच वर्ष होइन, करिब १४ वर्षसम्म निरन्तर चलेको थियो ।
हो, शीत युद्धका क्रममा युरोपेली देश अल्बानियामा यसरी निरन्तर बंकर बनाउने काम त्यहाँका शासक एनभर होक्सहाले गरेका थिए । धेरैजसो बंकर सन् १९७५ देखि १९८९ को बीचमा बनेका हुन् । त्यहाँ करिब पाँच लाख बंकर रहेको अनुमान छ ।
तीमध्ये केही बंकर जीर्ण अवस्थामा छन् भने केही क्याफे, घर, रेस्टुरेन्ट, स्विमिङ पुल, अन्न भण्डार, पुल र पानी ट्यांकीका रूपमा प्रयोग भइरहेका छन् । केही दशक कम्युनिस्ट शासन रहेको यो मुलुक तत्कालीन सोभियत संघको नजिक थियो भने पश्चिमा र युरोपेली शक्तिसँग अलग बनेको थियो ।
अल्बानियाका कम्युनिस्ट शासक एनभर होक्सहाले बाहिरी शक्तिबाट सुरक्षित बन्नका लागि पूरै देशमा बंकरहरू निर्माण गरेका थिए । अल्बानियाका टुरिस्ट गाइड एल्टन कासी ठट्यौलो पारमा भन्छन्, ‘अब त यी बंकर पनि पर्यटन विस्तारको माध्यम बनेका छन् ।’
शीतयुद्धका क्रममा अनिश्चितता र परमाणु युद्धको आशंकामा केही देश त्यसको सामना गर्न तयारी गरिरहेका थिए । अल्बानियाका शासक एनभर होक्सहा शीतयुद्धका समयमा बाहिरी शक्तिसँग निकै सतर्क थिए । कुनै पनि बेला युद्धको अवस्था आयो भने त्यसबाट देशमा ठूलो मानवीय क्षति हुनबाट बचाउनका लागि यी बंकर निर्माण गरिएको थियो ।
अल्बानियाको हजारौँ वर्ष पुरानो इतिहास छ । यो अवस्थाको सिर्जना भएको पनि करिब ४० वर्ष भइसक्यो । तर यो अल्बानियाको हजारौँ वर्ष पुरानो बिरासतका लागि भारी बनेको छ ।
अल्बानियाको एड्रियाटिक तटबाट भित्र जाने क्रममा पाइला पाइलामा बंकर बनेको देख्न सकिन्छ । सन् १९७५ पछि यसरी बंकर निर्माणको काम सुरु गर्दा अल्बानिया बाँकी विश्वसँग करिब करिब कटेको थियो । खासगरी सोभियत संघसँग पनि सम्बन्ध खराब भएपछि एनभर होक्सहाले बंकर बनाउन लगाएका थिए ।
उनी छिमेकी देश युगोस्लाभियादेखि लिएर अमेरिका र सोभियत संघसम्म हरेक मुलुक आफ्नालागि खतरा भएको सम्झन्थे । यो डर पनि उनले बंकर निर्माण गर्नुको एक कारण थियो ।
आज पनि पूरै देश बंकरमय छ । पहाडदेखि खेतसम्म, राजमार्गदेखि समुद्रको किनारसम्म बंकर भेटिन्छन् । एउटा बंकर बनाउन करिब दुईवटा बेडरुम भएको घर बनाउन बराबरको खर्च लागेको अनुमान गरिन्छ । यी सबै बंकर निर्माणका कारण अल्बानिया युरोपको सबैभन्दा गरिब देश बनेको थियो ।
यी बंकर यस्तो आर्थिक बोझका रूपमा रहे कि त्यो आर्थिक बोझ अहिले पनि अल्बानियाका जनताले बोक्नुपरिरहेको छ । वास्तममा एनभर होक्सहाले आफ्नो देशका जनतालाई एक मन्त्र दिएका थिए– ‘सधैँ तयार रहनू ।’
दोस्रो विश्वयुद्धका क्रममा अल्बानियालाई इटालीको सेनाले केवल पाँच दिनमा पराजित गरेको थियो । यद्यपि, इटालीको यो कब्जाको विरोधमा अल्बानियाका जनताले छापामार लडाइँका माध्यमबाट जारी राखेका थिए ।
युगोस्लाभिया र बेलायत–अमेरिकाको सहयोगबाट अल्बानियाका जनताले इटाली र जर्मनीका सेनामाथि हमला जारी राखेका थिए । यो छापामार लडाइँको नेतृत्व होक्सहाले गरेका थिए । जसरी मित्र देशको सेनाले धुरी राष्ट्र अर्थात् जर्मनी र इटालीका सेनामाथि विजय हासिल गर्ने दिशातिर अघि बढ्यो, तब अल्बानिया पनि शक्तिशाली बन्दै गयो ।
नोभेम्बर १९४४ मा अल्बानिया फाँसीवादी शक्तिबाट स्वतन्त्र हुन सफल भयो । यो जीतको श्रेय जसोतसो जुटाएका ७० हजार वामपन्थी सेनालाई नै जान्छ । दोस्रो विश्वयुद्ध अन्त्य भएपछि होक्सहाले अल्बानियाको सत्ता आफ्नो हातमा लिए ।
सत्तामा आएपछि तानाशाही बनेका उनले हरेक विरोधीलाई समाप्त पारेका थिए । सुरुमा उनले सोभियत संघको खेमामा जाने निर्णय गरे तर अरू देशसँग अल्बानियाको सम्बन्ध लगातार बिग्रिन थाल्यो ।
सन् १९४७ मा अल्बानियाले युगोस्लाभियासँग सम्बन्ध तोडियो । होक्सहाले युगोस्लाभियाका कारण जनता समाजवादतर्फ जानबाट भड्किरहेको भन्दै उनले सम्बन्ध तोड्ने निर्णय गरेका थिए । सोभियत संघमा निकिता ख्रुस्चेभ सत्तामा आएपछि उनले सम्बन्ध तोडे ।
यसपछि अल्बानिया माओत्सेतुङसँग नजिक भए । यो सम्बन्ध पनि लामो समय टिकेन । सन् १९७२ मा माओले तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनलाई बेइजिङ भ्रमणको निम्तो दिएपछि होक्सहाले चीनसँग पनि सम्बन्ध तोडे । सन् १९७८ मा चीनले अल्बानियाबाट आफ्ना सबै सल्लाहकार फिर्ता बोलायो ।
त्यसपछि त्यहाँका सबै गाउँ र नगरसहित देशैभर बंकर बनाउने काम चलेको थियो । सन् १९७६ देखि सन् १९८९ सम्म दिनरात बंकर बनाउने काम चलेको थियो ।
बंकर बनाउने एक मजदुर भन्छन्, ‘म जुन ठाउँमा काम गर्थें, त्यहाँ तीन सिफ्ट हुन्थ्यो । सबै सिफ्ट ८ घन्टाका हुन्थे ।’ एक इन्जिनियरले हरेक दिन १० घन्टाका दरले काम गरेको अनुभव सुनाउँदै उनले भने, ‘जब फर्जी एयर रेड अलार्म बज्थ्यो, तब डरको माहोल बन्थ्यो ।’
प्रकाशित मिति: बिहीबार, फागुन २, २०७५