भेनेजुएलाको विपक्षी दलका नेता हुवा गुएइदोले अमेरिका तथा युरोपेली देशबाट अन्तर्राष्ट्रिय सहयोग भित्र्याउने घोषणा गरेका छन् । सहयोग सामाग्री नआएको अवस्थामा देशका ३ लाख जनता मर्ने अवस्था भएको उनले बताए ।
नयाँ संकलन केन्द्र र रुट हुँदै २३ फेब्रअरीमा सहयोग भित्र्याउनेछौँ’, मंगलबार राजधानी काराकासमा आयोजित कार्यक्रममा उनले भने, ‘जनता भोकभोकै मर्ने अवस्था छ । झन्डै २० लाख जनताको स्वास्थ्य अवस्था नाजुक छ ।’
गुइदोले यसै साता ब्राजिली अधिकारीहरूसँग भेट गरेका थिए । त्यतिबेला उनले सीमा क्षेत्रमा रहेको रोराइमा राज्य हुँदै सहयोग सामग्री भित्र्याउने सहमति गरेका थिए । यता, राष्ट्रपति निकोलास मदुरोले अमेरिका र उसका सहयोगी राष्ट्रबाट आउने मानवीय सहायता सामग्री देशमा भित्रिन नदिने घोषणा गरिसकेका छन् । गत साता कोलम्बियाको सीमा क्षेत्र हुँदै भेनेजुएला छिर्न खोज्ने सहायता सामग्री बोकेको अमेरिकी ट्रकलाई सेनाले रोकेको थियो ।
अमेरिकाले गरेको हस्तक्षेप न्यायोचित थियो भनेर पुष्टि गर्नका लागि पश्चिमा देशहरूले मानवीय सहयोगको नाटक मञ्चन गरेको उनको भनाइ छ । मदुरोले डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी सरकार अतिवादीहरुको ग्याङ रहेको आरोप लगाएका छन् ।
यसरी चुलियो भेनेजुएला विवाद
सन् २०१४ यता सुरु भएको आर्थिक संकटका कारण भेनेजुएलाको अवस्था नाजुक छ । झन्डै ३० लाख जनताले देश छाडिसकेका छन् । आर्थिक संकटले थलिएका जनता राजनीतिक संकट चुलिएपछि खाद्यान्न तथा उपचारको समेत अभाव झेल्न बाध्य छन् । अमेरिकाले लगाएको नाकाबन्दीका कारण भेनेजुएलाको तेल तथा सुनले उचित बजार पाउन सकेको छैन । बेरोजगारी दर उच्च छ । हरेक वस्तुको बजारभाउ अकासिएको छ ।
यस्तो परिस्थितिमा गत वर्ष सम्पन्न निर्वाचनबाट राष्ट्रपति मदुरो दोस्रो कार्यकालका लागि चुनिएका थिए । तर राष्ट्रपतीय निर्वाचन विवादरहित बन्न सकेन । सरकारविरोधी अधिकांश नेताहरूलाई उम्मेदवारी दिनबाट रोक लगाइएको विपक्षीको आरोप छ । भेनेजुएलाको राष्ट्रिय संसद्मा राष्ट्रपति मदुरोको विरोध गर्ने दलहरूको गठबन्धन सुविधाजनक बहुमतमा छ । संसद्मा निर्वाचनको वैधतालाई लिएर पटक पटक प्रश्न उठेको थियो । त्यसपछि सभामुख नेता गुइदोले गत जनवरी २३ मा आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरे ।
त्यसयता मदुरोको समर्थन र गुइदोको समर्थनमा भेनेजुएलाका जनता तथा विश्वका शक्ति राष्ट्रसमेत विभाजित छन् । अमेरिका तथा पश्चिम युरोपले गुइदोको घोषणालाई स्वागत गरेका छन् । चीन, रुस, ईरानलगायतका देशहरू राष्ट्रपति मदुरोको पक्षमा छन् । अमेरिकाले भेनेजुएलाको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेर अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको यी देशहरूको आरोप छ । यता, अमेरिका तथा पश्चिमा राष्ट्रहरूले मदुरोले मानवअधिकार हनन् तथा भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन १, २०७५