नयाँ दिल्ली । भारतका पाँचवटा राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना जारी रहँदा प्रमुख दुई वटा राज्यमा सत्तारुढ भारतीय जनता पार्टी पछि परेको छ ।
मध्य प्रदेशमा भाजपा र काँग्रेसबीच कडा टक्करको अवस्था देखिएको छ भने मिजोरममा मिजो नेशनल फ्रन्ट सरकार बनाउने दिशामा अघि बढेको छ ।
राजस्थान र छत्तिसगढमा काँग्रेस निकै अघि देखिएको छ भने तेलंगनामा चन्द्रशेखर रावको तेलंगना राष्ट्र समिति अघि देखिएको छ ।
मतगणनाको परिणाम आउने क्रम जारी रहँदा तीन राज्यमा सत्ता परिवर्तनको सम्भावना देखिएको छ । छत्तीसगढ, मध्य प्रदेश र राजस्थान तीन वटै राज्यमा भाजपाको सरकार रहेको छ ।
राजस्थान र छत्तीसगढमा काँग्रेसको बहुमत आउने देखिएको छ । मध्य प्रदेशमा भने दुई पार्टीबीच कढा प्रतिस्पर्धाको अवस्था छ । मध्यप्रदेशमा दुवै पार्टीको बहुमत नआउने देखिएको छ ।
यो निर्वाचन परिणामले भारतमा आगामी वर्ष हुने निर्वाचनलाई समेत असर पार्नेछ । त्यसैले पनि यो मतपरिणामलाई देशभरबाट चासो व्यक्त भएको छ ।
राजस्थान विधानसभामा कुल २ सय सिट भएपनि एक जना प्रत्यासीको मृत्यु भएपछि १९९ सिटमा मतगणना भइरहेको छ । यो नतिजाले भाजपाकी बसुन्धरा राजेले राज्यमा आफ्नो सरकार र कुर्सी बचाउँन सक्छिन् या सक्दिनन् भन्ने टुंगो लाग्नेछ । काँग्रेशका भने अशोक गहलोत या सचिन पायलट मुख्यमन्त्रीका दावेदार छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५