काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले सोमबार बिहान पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पछिल्ला दिनमा प्रसाईंले दिएका अभिव्यक्तिका विषयमा सोधपुछ गर्न उनलाई पक्राउ गरिएको हो ।
यसअघि भदौ २९ गते झापाबाट काठमाडौं आएका प्रसाईं त्रिभुवन विमानस्थलमा उत्रिएपछि त्यहीँ कार्यक्रम गर्न खोजेका थिए । विमानस्थल परिसरभित्र कार्यक्रम गर्न नमिल्ने भन्दै प्रहरीले उनलाई पक्राउ गरी पछि घर पठाएको थियो ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले प्रसाईंमाथि कारबाहीको माग गरेकी थिइन् ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले प्रसाईंले आफूविरुद्ध लगाएको आरोपको खण्डन गरेकी थिइन् । प्रसाईंले आफ्नो छोराको शवसँग सांसद पद साटेको आरोप लगाएको भन्दै उनी संसद् बैठकमै भक्कानिएकी थिइन् ।
‘सरकारले बाटो बिरायो भने जेनजी सहिदकी आमाले खबरदारी गर्नुपर्छ भनेर यहाँ आएकी हुँ,’ उनले भनेकी थिइन्, ‘सहिदले पूर्णरूपमा न्याय पाउँछन् भने मैले सांसद पदबाट राजीनामा दिन हिचकिचाहट हुँदैन । मलाई छोराको लाशमाथि सांसद पद साटेकी भन्ने आरोप लाग्यो ।’
उनले आफ्ना छोराछोरी परिवारसँग रहेको र आफूले भने छोरा गुमाएको बताउँदै भावुक भएकी थिइन् ।
‘तपाईंहरूका छोराछोरी तपाईंसँग छन् । मेरो संसार उजाडिएको छ । मेरो काख रित्तिएको छ । यो ठाउँमा उभिएर तपाईंहरू एकपल्ट हेरिदिनुहोला । छोरा मेरो काखमा आउँछ भने पद त्याग्न तयार छु,’ उनले भनेकी थिइन् ।
सांसद खतिवडा खत्रीले कुनै पनि अभिव्यक्ति दिनुअघि हजारौँपटक सोच्न प्रसाईंलाई आग्रह गर्दै उनीमाथि कारबाहीको माग गरेकी थिइन् ।
प्रकाशित मिति: सोमबार, असोज १२, २०८३