क्षितिज नाट्य प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष, रंगकर्मी ,साहित्यकार तथा अभियन्ता माधव कल्पितका दुई नयाँ कृति ‘अकल्पित आख्यान’ र ‘अबको नेपाल’ एकसाथ प्रकाशन हुने भएका छन्। समकालीन नेपाली समाज, नागरिकका पीडा, सामाजिक आन्दोलन, राजनीतिक घटनाक्रम, रंगयात्रा र देशको भविष्यबारेका चिन्तनलाई फरक–फरक कोणबाट प्रस्तुत गरिएका यी दुई कृतिले लेखकको लामो सामाजिक, साहित्यिक तथा रंगमञ्चीय यात्रालाई सिर्जनासँग जोड्ने प्रयास गरेका छन्।
दुई कृतिमध्ये ‘अकल्पित आख्यान’ पछिल्ला वर्षमा नेपाली समाज र राजनीतिमा घटेका घटनाक्रम, लेखकका अनुभव तथा सामाजिक आन्दोलनका उतारचढावलाई आख्यानात्मक शैलीमा प्रस्तुत गरिएको कृति हो। पुस्तकमा नागरिक बचाउ महाअभियान नेपालको जन्मदेखि त्यसको पाँच वर्षे यात्रा, संघर्ष, परिवर्तन र उतारचढावलाई विशेष स्थान दिइएको छ।
आवाजविहीन नागरिकको आवाज उठाउने उद्देश्यका साथ अघि बढेको अभियानसँग जोडिएका बैंक, सहकारी, लघुवित्त तथा मिटरब्याजका कारण नागरिकले भोग्नुपरेका समस्या, भय र पीडालाई लेखकले कृतिको महत्वपूर्ण विषय बनाएका छन्। मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईको नेतृत्वमा २०७९ साल फागुन -१ गते मेचीको बगरमा राजाको हातबाट दीप प्रज्वलन गरि अभियानको प्रारम्भ को प्रसंग र अभियानका विभिन्न चरणमा भएका गतिविधि र त्यससँग जोडिएका सामाजिक तथा राजनीतिक घटनाक्रमलाई आख्यानले मुख्य रुपमा समेटिएको छ।

दुर्गा प्रसाईको जीवनयात्रा ‘अकल्पित आख्यान’को अर्को महत्वपूर्ण कथ्य हो। भैंसीपालनबाट सुरु भएको उनको व्यावसायिक तथा सामाजिक यात्रादेखि सार्वजनिक जीवनमा प्रवेश, सामाजिक अभियान, नागरिक बचाउ महाअभियानको नेतृत्व, आन्दोलनका क्रममा आएका उतारचढाव, जेल तथा हिरासतका प्रसंग, १७ पटकसम्म हिरासतमा बस्नुपरेका घटनाक्रम, न्यायालयका फैसला तथा प्रसाई परिवारले भोग्नुपरेका कठिनाइ हुँदै राष्ट्रिय राजनीतिसम्म आइपुगेको यात्रालाई लेखकले यथार्थमा आधारित आख्यानात्मक ढंगले प्रस्तुत गरेका छन्।
यस क्रममा एउटा व्यवसायिक जीवनबाट सार्वजनिक बहसको केन्द्रमा पुगेको व्यक्तिको यात्रा, त्यससँग जोडिएका पात्र, घटना, संघर्ष र राजनीतिक परिवेशलाई जोडेर ‘अकल्पित आख्यान’ले समकालीन नेपालको एउटा महत्वपूर्ण समयखण्डलाई कथात्मक रूपमा उतार्ने प्रयास गरेको छ।
रंगयात्रादेखि झापा नाटक घरसम्म
अकल्पित आख्यान को कथा नागरिक अभियान र राजनीतिमा मात्र सीमित छैन। यसको अर्को महत्वपूर्ण पाटो माधव कल्पितको आफ्नै रंगयात्रा हो। लामो समयदेखि रंगमञ्चमा सक्रिय कल्पितले आफ्नो रंगकर्म, सामाजिक जीवनसँगको सम्बन्ध र त्यस यात्रामा प्राप्त अनुभवलाई साहित्यिक आख्यानसँग जोडेका छन्।
त्यसै गरि यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा झापा नाटक घर निर्माणको कथा र व्यथा पनि कृतिमा समेटिएको छ। नागरिकको सहयोग, ‘एक व्यक्ति एक इट्टा’ अभियान, आर्थिक तथा भौतिक कठिनाइ, निर्माणका क्रममा भोगिएका समस्या र एउटा स्थायी रंगमञ्च निर्माण गर्ने सपना देखि अन्तर्राष्ट्रिय मञ्चमा प्राप्त सम्मान र उपाधिलाइ समेत कृतिले समेटेको अनुमान गर्न सकिन्छ ।
यसरी हेर्दा ‘अकल्पित आख्यान’ केवल राजनीतिक घटनाको पुस्तक होइन। यो रंगकर्मीको जीवनयात्रा, नागरिकको पीडा, सामाजिक अभियान तीन कुने घटना देखि जेन्जी आन्दोलनका आरोह–अवरोह र राष्ट्रिय राजनीतिलाई लेखकले यथार्थ घटनाका रुपमा एउटै कथात्मक यात्रामा जोड्ने प्रयास गरेका छन् ।
कृतिमा राष्ट्रिय राजनीतिका विभिन्न दृश्य–परिदृश्य, तीनकुने घटनासँग सम्बन्धित प्रसंग तथा त्यसबारे लेखकको बुझाइ, साथै पछिल्लो समयको जेन्जी आन्दोलनसँग जोडिएका घटनालाई समेत समेटिएको छ। यसले पुस्तकलाई पछिल्ला वर्षमा नेपाली समाजमा विकसित सामाजिक तथा राजनीतिक घटनालाई साहित्यिक दृष्टिले नियाल्ने प्रयासका रूपमा प्रस्तुत गरेको छ।
कृतिमा समेटिएका राजनीतिक तथा समसामयिक घटनाहरू लेखकका अनुभव, अवलोकन र दृष्टिकोणमा आधारित आख्यानात्मक प्रस्तुति भएकाले यसलाई घटनाको अन्तिम आधिकारिक इतिहासभन्दा एक सहभागी तथा पर्यवेक्षकको साहित्यिक अभिव्यक्तिका रूपमा पढ्न सकिन्छ। यही पक्षले कृतिलाई पाठकीय बहस र विमर्शका लागि खुला बनाएको छ।
‘अबको नेपाल’मा भविष्यको खोजी
यसैबीच ‘अबको नेपाल’ले नेपालको वर्तमान अवस्था, राजनीतिक–सामाजिक परिवेश, नागरिकका अपेक्षा, देशले भोगिरहेका चुनौती र आगामी नेपालको सम्भावित दिशामाथि विमर्श गर्ने प्रयास गरेको छ। राजनीतिक अस्थिरता, नागरिकमा देखिएको निराशा, रोजगारी र अवसरको प्रश्न, सुशासन, युवा पुस्ताको भविष्य तथा राज्य र नागरिकबीचको सम्बन्धजस्ता विषयलाई कृतिले बहसको केन्द्रमा ल्याएको छ।
अबको नेपाल’ वर्तमान अवस्थाको चित्रणमा मात्र सीमित नभई अबको नेपाल कस्तो हुनुपर्छ भन्ने प्रश्न उठाउने कृतिका रूपमा आएको छ। देश निर्माणमा नागरिकको भूमिका, परिवर्तनका लागि आवश्यक सोच र भावी पुस्ताप्रतिको जिम्मेवारीबारे पाठकलाई घोत्लिन बाध्य बनाउने प्रयास यसमा देखिन्छ।
एउटै सर्जक, दुई फरक दृष्टि
माधव कल्पितका यी दुई कृतिको मूल प्रकृति फरक भए पनि दुवैको केन्द्रमा नेपाल, नेपाली समाज र नागरिकको भविष्य रहेको देखिन्छ। ‘अकल्पित आख्यान’ले पछिल्ला वर्षमा देखिएका र भोगिएका घटनालाई पछाडि फर्केर हेर्छ भने ‘अबको नेपाल’ले भविष्यतर्फ फर्केर प्रश्न गर्छ। एउटामा समयको भोगाइ, संघर्ष र घटनाको आख्यान छ भने अर्कोमा भविष्यको नेपालबारे चिन्तन र परिकल्पना छ।
रंगमञ्चमा लामो समय बिताएका कल्पितले साहित्यमा पनि समाजका आवाज, नागरिकका पीडा, आन्दोलनका कथा र देशको भविष्यबारेका प्रश्नलाई प्रवेश गराएका छन्। त्यसैले यी दुई कृति केवल साहित्यिक सिर्जना मात्र नभई एक रंगकर्मी सर्जकले आफ्नो समयलाई कसरी देखे, भोगे र शब्दमा उतारे भन्ने अभिलेखका रूपमा पनि अर्थपूर्ण देखिन्छन्।
एकातिर भैंसीपालनदेखि राष्ट्रिय राजनीतिसम्मको यात्राको आख्यान, नागरिक आन्दोलनका संघर्ष र रंगमञ्च निर्माणको कथा अर्कोतिर अबको नेपालको खोजी र भविष्यको परिकल्पना माधव कल्पितका यी दुई कृतिले उनको साहित्यिक यात्रालाई मात्र होइन, उनले नजिकबाट देखेको नेपाली समाजको एउटा महत्वपूर्ण समयखण्डलाई समेत शब्दमा सुरक्षित गर्ने प्रयास गरेका छन्।

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३