२२ भदौ, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल अगाडि बढिरहेको बताएका छन । नेपालको आर्थिक सामाजिक रुपान्तरणमा सहयोग गरिरहेका विभिन्न दातृ निकायको सहयोगमा राष्ट्रिय योजना आयोगद्वारा दक्षिण एशियामा खाद्य तथा पोषण सुरक्षा विषयक बिहीबार काठमाडौँमा आयोजित अन्तराष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले स्थानीय तह तथा प्रदेश/प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै संक्रमणकालकोे अन्त्य भई दिगो राजनीतिक स्थायित्व आउने विश्वास व्यक्त गरे । उनले भने, “गणतन्त्रलाई संस्थागत गर्न नेपालको संविधान कार्यान्वयनमा आइरहेको छ, यसका लागि स्थानीय तहको निर्वाचन केही सम्पन्न भएका र केही सम्पन्न हुने चरणमा रहेका छन् । साथै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मितिसमेत घोषणा भएको छ । ” खासगरी दक्षिण एशियामा खाद्य तथा पोषणको अवस्थाका बारेमा समीक्षा गर्दै आगामी दिनमा अपनाइनुपर्ने रणनीतिका बारेमा छलफल गर्ने ध्येयले आयोजित सो दुईदिने गोष्ठीमा नेपालसहित यस क्षेत्रका १६ देशका ११६ जनाको सहभागिता रहेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २१, २०७४