१९ भदौ, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नं २ अन्तर्गतको स्थानीय तह र प्रदेश तथा संघीय संसद्को निर्वाचन निर्दिष्ट समयभित्रै स्वतन्त्र, स्वच्छ र भयरहित रुपमा सम्पन्न गराउने विषयलाई प्रमुख प्राथमिकतामा राखी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन । राष्ट्रिय विकास समस्या समाधान समितिको सोमबार बसेको ४० औँ बैठकमा समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण आधारका रुपमा रहेका निर्वाचन सफल गराउन राजनीतिक दल, नागरिक समाज, कर्मचारीतन्त्र तथा सुरक्षा निकाय सबैको सहयोग र सक्रियताको अपेक्षा गरे । निर्वाचन सँगसँगै आर्थिक सुधारका कार्यक्रममार्फत लगानी अभिवृद्धिका लागि अनुकूल वातावरण सिर्जना गर्ने र विकास कार्यक्रम तथा आयोजनाको कार्यान्वयनमा प्रभावकारिता ल्याउँदै तीव्रतर एवं दिगो आर्थिक वृद्धिसहितको समृद्धि हासिल गर्ने विषयमा पनि सरकारको ध्यान केन्द्रित भएकाले उनले बताए । गत आर्थिक वर्षमा केही आर्थिक परिसूचकमा उत्साहजनक सुधार देखिएको जानकारी गराउँदै प्रधानमन्त्री देउवाले आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहने लक्ष्य रहे पनि करिब सात प्रतिशत पुग्नु, मुद्रास्फीति दर ७.५ प्रतिशतमा रहने अनुमान रहे पनि ४.५ प्रतिशतमा सीमित रहनु र राजस्व संकलन लक्ष्यको १०७ प्रतिशत हासिल हुनुले वर्तमान सरकारलाई उत्साहित बनाएको बताए ।
प्रकाशित मिति: आइतबार, भदौ १८, २०७४