१६ भदौ, काठमाडौँ । यातायात व्यवसायीले नेपालीको महान् पर्व बडादशैँका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले यही भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने भएका छन् । सरकारको पहलमा यातायात व्यवस्था विभाग मीनभवनमा विभागका कर्मचारी, ट्राफिक प्रहरी, नेपाल प्रहरी, उपभोक्तावादी र यातायात व्यवसायीबीच आज बसेको बैठकले काठमाडौँबाट चल्ने लामो तथा मझौला दूरीको बसको टिकट खुला गर्ने निर्णय गरेको हो । लामो समयदेखि यातायात व्यवसायीले बसमा यात्रुको सामान राख्न छतको व्यवस्था हुनुपर्ने भन्दै टिकट खुलाउनेबारेमा अटेर गरे पनि विभागले मन्त्रिपरिषद्बाट छत राख्ने निर्णयका लागि पहल गर्ने आश्वासन दिएपछि व्यवसायी टिकट खुलाउनेबारेमा सकारात्मक देखिएका हुन् । विभागका महानिर्देशक रुपनारायण भट्टराईले व्यवसायीको मागलाई सम्बन्धित क्षेत्रमा र्पुयाएर समाधान गर्ने बताए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले चाडबाडका समयमा यात्रुलाई सम्बन्धित क्षेत्रमा र्पुयाउने जिम्मा व्यवसायीको भएकाले महाशाखा व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । राष्ट्रिय यातायात व्यवसायी महासंघका कावा अध्यक्ष डोलराज खनालले सरकारले छत हटाउने सम्बन्धमा गरेको निर्णय अव्यावहारिक भएको बताए।
प्रकाशित मिति: बिहीबार, भदौ १५, २०७४