१५ भदौ, काठमाडौँ । आइजिपी नियुक्ती प्रकरणको मुद्दाको सुनुवाइ सकिएको छ । प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा तत्कालीन प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा बिहीबार सुनुवाई सकिएको हो । प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले दायर रिटमाथिको सुनुवाई सकी भदौ १९ गते फैसला गर्ने निर्णय गरेको सर्वोच्च प्रशासनले जनाएको छ । तत्कालीन प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सिलवालले गत चैत ३० गते रिट दायर गरेका थिए । अदालतले त्यो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि सरकारले प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । अर्याल महानिरीक्षकमा नियुक्त भएपछि पनि सिलवालले कार्यसम्पादन मुल्यांकनमा आफू अघि रहेको भन्दै रिट दायर गरेका थिए ।
प्रकाशित मिति: बुधबार, भदौ १४, २०७४