१४ भदौँ, काठमाडौँ । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले भ्रष्टाचारीको पक्षपोषण हुने गरी संशोधन प्रस्ताव पेश गरेकोमा सार्वजनिक कार्यक्रममा घुमाउरो शैलीमा माफी मागेका छन । विगतदेखि नै भ्रष्टाचारविरुद्धको संयन्त्रलाई कमजोर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका अधिकारी पछिल्लो पटक भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार लगायतमा अदालबाट दोषी ठहर भएकाले पनि चुनाव लड्न पाउनुपर्ने पक्षमा खुलेर लागेका थिए । उनले प्रतिनिधिसभा सदस्य निर्वाचन विधयेकको दफा १३ को ‘ङ’ मा संशोधन हालेका थिए । उनले आफूले मात्रै संशोधन हालेका होइनन कि उनको डिजाइनमा कांग्रेसका अन्य १८ सांसदले पनि सोही विषय संशोधन पेश गरेका छन । मंगलबार पत्रकार हरिबहादुर थापाको पुस्तक विमोचनमा पुगेका अधिकारीले आफूले एउटा वातावरण तयार गर्न मात्र संशोधन हालेको र अब त्यसबारेमा थप अघि नबढ्ने भन्दै घुमारो शैलीमा माफी मागेका हुन । उक्त कार्यक्रममा सहभागी भ्रष्टाचारविरुद्धका एक जना अभियन्ताका अनुसार अधिकारीले संशोधन हाल्ने आफ्नो अधिकार भए पनि अहिले आफू संशोधन पास हुनै पर्छ भन्ने पक्षमा नरहेको बताए ।

विगतमा संविधान निर्माणको अन्तिम चरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकरमा रहेको अनुचित कार्यको अनुसन्धान कुरा यिनै अधिकारी लगायतका सांसदको सक्रियतामा हटाइएको थियो । अधिकारी लगायतका कांग्रेसका सांसदले भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बीस वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएका व्यक्ति उम्मेदवार हुन अयोग भन्ने व्यवस्थालाई संशोधन गरी तीन वर्ष राख्न प्रस्ताव गरेका थिए ।
अहिले उक्त विधेयक प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा समितिमै अड्किएको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहरिएर सजाय भुक्तान गरेका खुमबहादुर खड्का, चिरञ्जीवी वाग्लेलगायतलाई निर्वाचनमा उठाउने गरी कांग्रेस सांसदहरूले संशोधनको माग गरेका हुन् । भ्रष्टाचारीलाई जनप्रतिनिधि बन्ने ढोका खोल्नु पर्छ भन्नेहरुमा राधेश्याम अधिकारी, तारामान गुरुङ, बुद्धिराम भण्डारी, तप्तबहादुर विष्ट, सुशीला चौधरी, चम्पादेवी खड्का, विन्दादेवी आले राना, पद्मनारायण चौधरी, भरतबहादुर खड्का, पुष्कर आचार्य, मिनाक्षी झा, किरण यादव, अमृतलाल राजवंशी, तेजुलाल चौधरी, दिनेशप्रसाद परसैला यादव, सुरेन्द्रप्रसाद यादव, राजु थापा, इन्द्रबहादुर बानियाँ र नरबहादुर चन्द रहेका छन ।
प्रकाशित मिति: मंगलबार, भदौ १३, २०७४