१४ भदौ, काठमाडौँ । विश्व शान्तिको केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी एक सातादेखि अन्धकारमय बनेको छ । धेरै भार थाम्न नसकी ट्रान्सफर्मर पड्किएपछि लुम्बिनी क्षेत्र अन्धकारमय बनेको हो । अघिल्लो शनिबार ट्रान्सफर्मर पड्किएपछि अन्धकारमय बनेको पर्यटकीय नगरी लुम्बिनी अहिलेसम्म पनि अन्धकारमय छ । लुम्बिनी आसपासका क्षेत्रमा वैकल्पिक वितरण केन्द्रबाट बिजुली पुर्याइएको भए पनि पर्यटकीय क्षेत्र भने अन्धकार छ । लुम्बिनी क्षेत्रमा वितरण हुँदै आएको ५ एमभिएको ट्रान्सफर्मरबाट आठ एमभिए विद्युत् वितरण हुँदै आएको थियो । ओभरलोडका कारण उक्त ट्रान्सफर्मर शनिबार पड्किएको थियो । ट्रान्सफर्मर पड्किएलगत्तै अर्को ट्रान्सफर्मर जडान नहुँदा लामो समय लुम्बिनी बिजुलीविहीन बनेको छ । बिजुली नहँुदा पर्यटकीय क्षेत्र अस्तव्यस्त बनेको र लुम्बिनीको सौन्दर्यतासमेत हराएको पर्यटन व्यवसायी प्रकाश भट्टराईको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १३, २०७४