९ भदौ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा आज दल दर्ता गराएको छ । दल दर्ताका लागि चाहिने आवश्यक कागजातसहित पार्टीका उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा गएको टोलीले आयोगमा पुगेर दल दर्ता गराएको हो । राजनीतिक दलले हरेक निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने कानूनी व्यवस्था छ । निर्वाचन आयोगले दल दर्ताका लागि यही भदौ ११ गतेसम्मको समयसीमा दिएको छ । हालसम्म आयोगमा ४४ राजनीतिक दलले दल दर्ता गराइसकेको आयोगले जनाएको छ । सो क्रममा उपाध्यक्ष गौतमको टोलीले प्रमुख निर्वाचन आयुक्त र आयुक्तसँग प्रदेश नं २ मा आउँदो असोज २ गते हुने स्थानीय तह र आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन विषयमा पनि छलफल ग¥यो । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता गौतमले निर्वाचनका लागि आवश्यक विधेयक पारित गर्न पूर्णरुपमा सहयोग गर्न तयार रहेको बताए । सरकारलाई छिटोभन्दा निर्वाचनसम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्न सुझाव दिँदै उनले असोज २ र मंसिरमा हुने दुवै निर्वाचनका लागि एमाले रहेका बताए । टोलीमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, सचिव प्रदीपकुमार ज्ञवली, पार्टी निर्वाचन फाँटका प्रमुख राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री अग्निप्रसाद खरेललगायत सहभागी थिए ।
प्रकाशित मिति: बिहीबार, भदौ ८, २०७४