७ भदौ, मोरङ । सीमावर्ती बजार भारतको जोगबनीदेखि सात किलोमिटर दक्षिणमा रहेको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त हुँदा ५०० भन्दा बढी मालबाहक गाडी उतै अलपत्र परेका छन् । अविरल वर्षासँगै खोलामा आएको बाढीका कारण पुल धस्सिएपछि गएको आइतबारदेखि यो बाटोबाट विराटनगर आउने र जाने मालबाहक गाडी ठप्प भएका हुन् । वीरगञ्ज र भैरहवापछि बढी सामान भित्रिने नाका विराटनगर हो । विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष वीजेन्द्र परासरका अनुसार ट्रक, लरी र पेट्रोलियम पदार्थका ट्यांकरसमेत गरी ५०० भन्दा बढी गाडी उतै रोकिएका छन् । नेपालतर्फ मालसामान अनलोड गरेर भारततर्फ फर्किएका गाडी पनि ५०० कै हाराहारीमा छन् । मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष सुशील जोशीले विराटनगर नाकातर्फ आउन लागेका मालबाहक गाडीलाई तत्काल सुनसरीको भीमनगर भन्टाबारी भन्सार नाकाबाट ल्याउन सकिने बताए ।
भारतको जोगबनी भन्सारका डेपुटी कमिस्नर पवन कुमारसित जोशीले भारततर्फको भीमनगरसित जोडिएको नेपालको भन्टाबारी भन्सारबाट मालसामान आयातको व्यवस्था मिलाउन आग्रह गरे । संघको प्रतिनिधिमण्डलले मीरगञ्जको क्षतिग्रस्त पुलको अवलोकन गरेपछि डेपुटी कमिस्नर पवन कुमारलाई भेटेको थियो । ‘यसका लागि धेरै ठूलो प्रक्रिया अपनाउनु पर्दैन’, जोशीले भने, दुवैतर्फका भन्सार प्रमुखले लिखित स्वीकृति दिए पुग्छ । यसअघि पनि त्यो नाका सञ्चालनमा आएको बताउँदै उनले दुवै भन्सार प्रमुखको स्वीकृति भए तत्कालै नाका सञ्चालनमा ल्याउन सकिने बताए । जोशीका अनुसार भन्टाबारी भन्सार विराटनगर भन्सारअन्तर्गत नै सञ्चालित छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ६, २०७४