६ भदौ, चितवन । बाढीले ध्वस्त भएको चितवनको पर्यटकीय क्षेत्र सौराहा पुगेका चिनियाँ पर्यटकहरुले स्थानीय बान्सी गाउँमा राहतका सामग्री वितरण गरेका छन् । साइनो नेपाल मिडिया सोसाइटी, क्षेत्रीय होटल संघ चितवन, युनाइटेड हात्ती सञ्चालक सहकारी संस्था, स्थानीय जनप्रतिनिधि र सुरक्षाअधिकारीको उपस्थितिमा २० जना चिनियाँ फाटोग्राफरहरुले सौराहा नजिकैको बन्सी गाउँका बाढी पिडितलाई सोमबार एक समारोहका बीच लत्ताकपडा र शैक्षिक सामग्री वितरण गरेका हुन् । बाढीका कारण सौराहाका होटलहरु डुवानमा परी क्षतिग्रस्त भएको र पर्यटकहरु अन्य क्षेत्रमा डाइभर्ट भएपछि साइनो नेपाल मिडिया सोसाइटीको पहलमा चिनियाँ पर्यटकको समूहलाई चितवन पुर्याइएको थियो । बाढीले थला परेको नेपालकै तेस्रो ठूलो पर्यटकीय क्षेत्रको पर्यटन बजारलाई पुरानै अवस्थामा फर्काउन सोसाइटीले चीनको फोटोग्राफी समूहलाई सौराहा पुर्याइएको अध्यक्ष ध्रुव पौडेलले बताए । चिनियाँ सञ्चारमाध्यममा छाएको डुवानको समाचारलगत्तै पर्यटकहरुले नेपाल भ्रमण रद्द गर्ने योजना बनाए थिए । सोसाइटीले औपचरिकरुपमा सुरक्षाको प्रतिवद्धता जनाएपछि चिनियाँ फोटोग्राफरहरुले राहतका सामग्रीसमेत बोकेर आएका थिए । चिनियाँ सञ्चारमाध्यमहरु, विशेष गरेर सीसीटीभीमा, बाढीबाट सयौँको हताहती र सयौँ पर्यटक अलपत्र परेको समाचार प्रवाह गरेको थियो, पर्यटक समूहका नाइके लि हुवानले भने, यो समाचार चीनमा भाइरल भएको छ र त्यसले नेपालको दक्षिणी भाग असुरक्षित छ भन्ने सन्देश चीनभरि अझै पनि ब्यप्त छ । फोटोग्राफरहरुको टोलीको नेतृत्व गर्दै दशौँ पटक नेपाल आएका लीले उनी नेपाल र नेपाली जनताको पुरानो मित्र भएकोले राहतका सामग्रीसहित पर्यटक र सञ्चारमाध्यममले खतरा भनेको ठाउँमा पुगेको बताए । सुनसान रहेको सौराहामा राहतसहित पर्यटक पुग्नुले त्यहाँको पर्यटन बजारलाई सकरात्मक प्रभाव पार्ने स्थानीय ब्यवसायीले बताएका छन् ।

क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले बाढीपछि सौराहा सुरक्षित छ भन्ने कुराको प्रचार प्रसार गर्दै पर्यटन बजारलाई पुरानै अवस्थामा फर्काउन चिनियाँहरुको प्रयासले सहयोग पुग्ने बताए । उनले सौराहाका होटलहरु क्रमशः नर्मल अवस्थामा आएको जानकारी पनि दिए । करिब १० दिनअगाडि आएको बाढीले सौराहाका होटलहरु डुवानमा परी २५० चिनियाँसहित करिब ६०० पर्यटकहरु अलपत्र परेका थिए । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपक भट्टराईका अनुसार अलपत्र परेका पर्यटकहरुलाई हात्तीमा चढाएर चित्रेसारी पुर्याई उद्दार गरिएको थियो । सयभन्दा बढी होटल भएको सौराहाबजार बाढीपछि सुनसान थियो । राहतसहित चिनियाँ पर्यटक पुगेको थाहा पाएपछि अन्य देशका पर्यटकहरु पनि सौराहामा देखिन थालेका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ ५, २०७४