१ भाद्र, पर्सा । वीरगञ्ज भन्सार कार्यालयले आजदेखि भारतबाट भित्रिने सबै बस्तुमा बस्तु तथा सेवा कर अर्थात जिएसटी प्रणाली लागु गरेको छ । भारतबाट आयात हुने कृषि उपज, खाद्यान्न, दलहन, जीवित जनावर, पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास बाहेकका बस्तुमा यो प्रणाली लागु हुने वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए । जिएसटी प्रणाली लागु भएपछि भन्सार एजेन्टले बनाउने नक्कली बिल नियन्त्रणमा आउने विश्वास लिइएको सरकारले जनाएको छ । कारोबारीले प्रज्ञापनपत्र भर्दा ढुवानी साधन नम्बर एकिन गरेर भर्नुपर्ने र पछि ढुवानी साधन नम्बर फरक परेमा बिग्रेको अवस्था बाहेकमा नसच्याउने व्यवस्था भन्सार कार्यालयले गरिएको उनले बताए । अब एउटा ढुवानी साधनमा एउटा मात्र एजेन्टको बस्तु ढुवानी गर्न पाउने, भन्सार जाँचपास भएर निकालिसकेको बस्तु अनिवार्य रुपमा त्यही दिन भन्सार यार्डबाट निकाल्नुपर्ने व्यवस्था लागु हुनेछ ।
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४