काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाभियोग प्रकरणसम्बन्धी रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी अन्तिम सुनुवाइ आज (भदौ २४) सकिने भएको छ ।
यसअघि सुनुवाइ नसकिएपछि उक्त प्रकरणलाई बुधबार (भदौ २४) का लागि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । राणाको महाभियोग प्रकरणको सुनुवाइका लागि प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, विनोद शर्मा र शारङ्गा सुवेदी सम्मिलित संवैधानिक इजलास गठन गरिएको छ ।
सरकारी वकिलको बहस सकिएपछि रिट निवेदकका कानुन व्यवसायीले जवाफी बहस गरेका छन् । जवाफी बहसका क्रममा रिट निवेदक पक्षका कानुन व्यवसायीले पूर्वप्रधानन्यायाधीश राणामाथिको महाभियोग अझै जीवित रहेको दाबी गर्दै प्रतिनिधिसभामा महाभियोगसम्बन्धी कारबाही अघि बढाउन परमादेश जारी गर्न माग गरेका छन् ।
अब रिट निवेदकसमेत रहेका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले चिया समयपछि इजलाससमक्ष आफ्नो जिकिर प्रस्तुत गर्नेछन् । त्यसपछि निर्णय सुनाउने प्रक्रिया अघि बढ्नेछ ।
संघीय संसद्का तत्कालीन महासचिव भरतराज गौतमले राणाको निलम्बन फुकुवा भएको पत्र दिएपछि सर्वोच्च अदालत बारका तत्कालीन अध्यक्ष तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता डा. पुण्यप्रसाद खतिवडा, अधिवक्ता कीर्तिनाथ शर्मा पौडेललगायतले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।
प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३