काठमाडौं । नेपालमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिक तथा बालबालिकाको उद्धार, राहत र पुनःस्थापनाका लागि चिल्ड्रेन भिजन नेपालका संस्थापक अध्यक्ष रमेश सिलवालले बेलायतबाट सहयोगको अपिल गरेका छन् ।
बेलायत भ्रमणमा रहेका सिलवालले बेलायत–नेपाल चेम्बर अफ कमर्स (BNCC) को आयोजनामा लन्डनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा नेपालका बाढीपीडित परिवार तथा बालबालिकाको सहयोगका लागि आह्वान गरेका हुन् ।
कार्यक्रममा बोल्दै सिलवालले बाढी तथा प्राकृतिक विपत्तिका कारण धेरै परिवारले घर, विद्यालय, रोजगारी तथा दैनिक जीवनका आधारभूत आवश्यकता गुमाउनुपरेको बताए । प्रभावित नागरिक, विशेषगरी बालबालिकाका लागि खाद्यान्न, स्वच्छ खानेपानी, कपडा, स्वास्थ्य सेवा, सुरक्षित आवास तथा बाल संरक्षण तत्काल आवश्यक रहेको उनले उल्लेख गरे ।

‘नेपालका प्रभावित नागरिक र बालबालिका अहिले हाम्रो सहयोगको प्रतीक्षामा छन् । व्यक्ति, संस्था, व्यवसायी तथा नेपालप्रति सद्भाव राख्ने सबैले आफ्नो क्षमता र स्थानअनुसार सहयोगका लागि अगाडि आउन आवश्यक छ,’ उनले भने ।
आफू पनि बाढी प्रभावित नदी क्षेत्र नजिकै जन्मिएर हुर्किएको उल्लेख गर्दै सिलवालले प्राकृतिक विपत्तिबाट उत्पन्न पीडा आफूले नजिकबाट अनुभूति गरेको बताए । विपत्तिमा परेका परिवार तथा बालबालिकालाई आवश्यक सहयोग पुर्याउन चिल्ड्रेन भिजन नेपाल निरन्तर सक्रिय रहने उनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा सार्क चेम्बर अफ कमर्सका पदाधिकारी, वेस्ट लन्डन चेम्बर अफ कमर्सका प्रतिनिधि, बेलायतस्थित व्यवसायी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा नेपाली समुदायका व्यक्तित्वहरूको सहभागिता थियो ।
सो अवसरमा सिलवालले आगामी दिनमा नेपालका बाढीपीडितका लागि च्यानल एसले आयोजना गर्न लागेको सहयोग तथा फन्डरेजिङ कार्यक्रमप्रति आभार व्यक्त गर्दै अभियानमा आवश्यक सहकार्य र सहयोग गर्न चिल्ड्रेन भिजन नेपाल तयार रहेको बताए ।
कार्यक्रमकै दिन नेपालमा भएको जेनजी आन्दोलनको पहिलो वार्षिकोत्सव परेको प्रसङ्ग उल्लेख गर्दै सिलवालले आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले विपत्ति तथा अन्य चुनौतीका कारण प्रभावित नागरिक, विशेषगरी बालबालिकाको भविष्यप्रति सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड दिए ।
बाढीबाट प्रभावित परिवार तथा बालबालिकाको जीवनमा आशा र भरोसा जगाउन सरकार, गैरसरकारी संस्था, निजी क्षेत्र, प्रवासी नेपाली समुदाय तथा अन्तर्राष्ट्रिय समुदायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
‘हामी सबैको साझा प्रयास र सहयोगबाट विपत्तिबाट प्रभावित परिवारलाई पुनःस्थापित गर्न, नेपाललाई पुनःउभ्याउन र हाम्रा बालबालिकालाई सुरक्षित तथा उज्ज्वल भविष्यको आशा दिन सकिन्छ,’ सिलवालले भने ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३