२९ साउन, काठमाडौँ । सर्लाहीको ८० प्रतिशत भूभाग डुवानमा परेको प्रहरीले जनाएको छ । सर्लाहीमा आकाशे पानी र बाढीका कारण ८० प्रतिशत भूभाग डुवानमा परेको हो । सर्लाहीको समथर भागमा मौसममा केही सुधार भएपनि चुरे क्षेत्रमा पानी परिरहेकाले डुवान र कटानको चिन्ता कायमै रहेको प्रहरीले जनाएको छ । सर्लाहीमा बाग्मती, लखनदेही, फुलजोड, भिम लगायतका साना खोलाले धेरै वितण्डा मच्चाएका छन् । सर्लाहीमा शनिबारदेखि नै विद्युत आपूर्ति बन्द भएको छ । यस्तै पूर्व पश्चिम राजमार्ग, हुलाकी राजमार्ग र भित्री सबै सडक बाढी र डुवानका कारण बन्द छन् । सदरमुकाम मलंगवाका सबै सरकारी कार्यालय डुवानमा परेका छन् । सर्लाहीमा अहिलेसम्म ३ जनाको ज्यान गएको छ । ठूलो बाढीका कारण सर्लाही र रौतहटको सीमामा पर्ने बाग्मती नदीको बाँध उच्च जोखिममा परेको छ । बाग्मती नदीमा पानीको सहत उच्च हुँदा बाग्मती बाँधका केही पिलर भाँचिएपछि स्थानीयवासी त्रसित बनेका छन् । सिँचाइका लागि बनाइएको बाँध फुट्ने जोखिम बढेपछि सर्लाहीका दक्षिणी क्षेत्रका नागरिक त्रासमा परेका छन् ।

प्रकाशित मिति: शनिबार, साउन २८, २०७४