काठमाडौं । रसुवा बाढी तथा त्यसबाट प्रभावित विभिन्न क्षेत्रमा मानवीय क्षति बढ्दै गएको छ । बाढी तथा अन्य विपद्मा परी हालसम्म १ हजार ३६७ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।
गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार (भदौ २४) बिहान ११ बजे सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेटअनुसार विभिन्न जिल्लाबाट उक्त संख्यामा मृत्यु भएको विवरण प्राप्त भएको हो ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा ३६३ वटा फेला परेका छन् । यस्तै, नवलपरासी पूर्वमा २२६, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १७४, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ शव फेला परेका छन् । काठमाडौंमा उपचारका क्रममा रहेका दुई जनाको समेत मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
हालसम्म १०२ वटा शवको सनाखत गरी आफन्तलाई बुझाइएको छ । सनाखत हुन बाँकी शवका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुईवटा फोटो तथा नाता प्रमाणित कागजातसहित नमुना दिन सकिने व्यवस्था गरिएको छ ।
बाढी तथा अन्य विपद्का कारण करिब ५ हजार १३२ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । रसुवाबाट मात्रै २ हजार ८६० जना सम्पर्कविहीन छन् ।
विपद् प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ भने उद्धार तथा राहत कार्यमा सुरक्षा निकायका २१ हजार १८५ जना परिचालन भएका छन् ।
विभिन्न ३७ वटा होल्डिङ सेन्टरमा ३ हजार ६२८ जना राखिएका छन् । यस्तै, विभिन्न १० वटा अस्पतालमा ३२९ जनाको उपचार गरिएको छ । उपचारपछि २५२ जना डिस्चार्ज भइसकेका छन् ।
प्राधिकरणका अनुसार नेपाली सेनाले ३ हजार ५३५ जना तथा सशस्त्र प्रहरी बलले ३ हजार २८७ जनालाई उपचार सेवा प्रदान गरेका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३