२८ साउन, काठमाडौँ । केही दिनदेखि परेको ठूलो पानीसँगै आएको बाढी पहिरोमा परी विभिन्न जिल्लामा ३२ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री जनार्दन शर्माले शनिबार पत्रकारहरुसँग कुरा गर्दै बाढी पहिरोले र्पुयाएको क्षतिको जानकारी दिएका हुन । उनले दिएको जानकारी अनुसार झापामा ४, मोरङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १, र बर्दियामा १ जनाको बाढी पहिरोमा परी ज्यान गएको छ । गृहमन्त्री शर्माले बाढी प्रभावित क्षेत्रका लागि विमानस्थलमा खाद्यान्न तथा उद्धार सामाग्रीहरु तयारी अवस्थामा राखे पनि मौसम प्रतिकुल भएकाले पठाउन नसकिएको बताए ।

आइतबार पनि भारी वर्षाः सोमबारबाट मौसम सुधार
यसैबीच मनसुन बढी सक्रिय भएसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा भएको बदली र वर्षात् आइतबार पनि जारी रहने भएको छ । बिहीबारदेखि सक्रिय यो प्रणालीले देशभर बदली र वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले आज पनि देशभर वर्षात् भएको र यो क्रम भोलि पनि जारी रहने मौसमविद् सुजन सुवेदीले जानकारी दिए । उनका अनुसार अहिले पश्चिमका केही स्थानबाहेक देशभर बदली छ भने अधिकांश स्थानमा वर्षात् भइरहेको छ । आइतबार देशैभर वर्षात् हुने तथा विशेषगरी मध्य र मध्यपश्चिम नेपालका तराई क्षेत्रमा भारी वर्षात् हुने मौसमविद् सुवेदीको भनाइ छ । तुलनात्मकरुपमा पूर्वी क्षेत्रमा कम वर्षात् हुनेछ । सोमबारदेखि मौसममा क्रमिक सुधार आउने जनाइएको छ । आज पनि काठमाडौँ उपत्यकासहित देशभर वर्षात् भएको छ । धेरै स्थानमा भारी वर्षा भएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी सिमरामा २१७ र सबैभन्दा कम दीपायलमा पाँच मिलिमिटर वर्षात् भएको छ । नेपालगञ्जमा १६९, दाङमा १६७ र जनकपुरमा १३७ मिलिमिटर वर्षात् भएको छ । काठमाडौँमा ३० मिलिमिटर वर्षात् भएको छ । आज काठमाडौँ उपत्यकाको अधिकतम २६ र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ । दुई दिनदेखि लगातार परेको वर्षा खासगरी पूर्वी, पश्चिम र मध्यपश्चिमका तराई भेगमा बाढीको डुबान छ भने पहाडी भेगमा पहिरोले धनजनको क्षति गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७४